दीपकलाल श्रेष्ठ
बर्दिया(गुलरिया): विश्वव्यापी प्रकोपका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बर्दिया कारागारमा कैदी बन्दी भेटघाट बन्द गरिएकोछ ।
कोरोना भाइरसबाट उच्च सतर्कता अपनाउदै कारागारले यस्तो निर्णय गरेको हो । चैत्र ६ गतेदेखि लागुह हुनेगरि कारागारमा कैदीबन्दी भेटघाटमा बन्देज लगाइएकोछ ।
कारागारका कैदीबन्दीलाई भेट्नुपरेमा भेट अघि इन्फ्रारेड थर्मोमिटर मार्फत ज्वरो नाप्ने र साबुन पानीले अनिवार्य हात खुट्टा धुनुपर्ने तथा भेटघाटका क्रममा दुवैले मास्क अनिवार्य लगाउदै २ मिटर टाढा देखि भेटघाट गर्न पाउने नियम बनाइएको निमित्त जेलर डिल्ली चन्द्र पौडेलले बताए ।
भारतसँगको सिमानाकाबाट डेढ किलोमिटर दुरीमा रहेको कारागार संक्रमणको उच्च जोखिम छ ।
कारागारमा कैदी बन्दी भेट्न आउनेको संख्या अत्याधिक हुने गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण कैदि बन्दीका आफन्तले ल्याउने सामानमा समेत कडाई गर्दै १५ दिनका लागि आफन्तले ल्याएका सामान कारागार भित्र लग्न बन्देज लगाइएको समेत जेलर पौडेलले जानकारी दिए ।
कारागारमा क्षमताभन्दा दोब्बर बढि कैदि बन्दी रहेकाले पनि उच्च जोखिम देखिएकोले सतर्कता अपनाउदै भेटघाट र कारागार भित्र सामान लैजानमा कडाई गरिएको उनले बताए । कैदीबन्दी भेटघाट गर्न जानै परे जाने व्यक्तिमा ज्वरो, रुघा खोकी लगायत कुनै किसिमको स्वास्थ्य समस्या नभएको एकिन भएपछि मात्रै कैदीबन्दी भेट्न अनुमति दिने समेत उनले बताए ।
बर्दियाको सदरमुकाम गुलरियामा रहेको कारागारमा १ सय २५ जना कैदी बन्दी अटाउने क्षमता भए पनि आज चैत्र ६ गते सम्म महिला र पुरुष गरी २ सय ९२ कैदि बन्दि छन् ।