नेपालगन्जमा नमाज पढ्दै मुस्लिम समुदाय I फाईल तस्विर: विजय मल्ल/सेतोखरी
नेपालगन्ज: कोरोना भाइरसको जोखिम बढ्दै गएपछि यसबाट बच्न सवत्र चासो र चिन्ता पनि बढ्दै गएकोछ । हालसम्म विश्वभर १० हजार भन्दा बढीको कोरोना भाइरसका कारण मृत्यु भइसकेकोछ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्न सक्ने भन्दै सरकारले सेमी लकडाउन नै गरेर थुप्रै निर्णयहरु पारित गरिसकेकोछ ।
यसैबीच नेपाल मुस्लिम आयोगले कोभिड–१९ बाट जोगिन देशभरका मुस्लिम समुदायलाई आ–आफ्नै घरमा नमाज पढ्न आग्रह गरेकोछ ।
यो आग्रहसगैं हरेक शुक्रबार मस्जिदमा पढिने जुम्माको नमाज पनि अब घरमै पढ्नु पर्ने हुन्छ । २५ जना भन्दा बढी भेला हुन नपाउने सरकारको निर्देशन अनुसार मस्जिदको सट्टा घर वा कारखानामै नमाज पढ्न थालिएको हो ।
मुस्लिम आयोगले कोभिडबाट बच्न सजग र सचेत हुन आग्रह गर्दै मदरसाहरूको पठनपाठन पनि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि बन्द गरिएकाछन् ।
मुस्लिम आयोगले पनि मदरसा, मस्जिदका प्रतिनिधिहरूलाई बोलाएर यस विषयमा छलफल गरेको थियो । आयोगले उपत्यकाका दशवटा मस्जिदलाई पत्राचार गरेर घरमै नमाज पढ्ने व्यवस्था मिलाउन भनेको हो ।
‘मुस्लिम समुदायले नियमित रुपमा पढिने नमाज र शुक्रबारका दिन पढिने जुम्माको नमाज सकेसम्म घर, कलकारखाना आदिमा पढ्ने र मस्जिदमा सकेसम्म कम उपस्थितिमा पढ्ने, पढाउने, मदरसाहरूमा पठनपाठन बन्द गराउने र अति आवश्यक नभइ कुनै पनि कार्य
क्रममा सहभागी नहुन सम्बन्धित सबै मुस्लिम समुदायमा अनुरोध गर्ने निर्णय गरियो’ आयोगद्वारा जारी पत्रमा भनिएको छ ।
यद्यपी कोभिड–१९ को जोखिमबाट बच्न संक्रमित मुलुकले घरघरमै नमाज पढ्न थालिसकेकाछन् । बुधबार मात्रै कोरोना भाइरस रोकथामका लागि सरकारले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको थियो ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, आवातजावत र हिडडुल नगर्न सर्वसाधरणलाई अपील गरेको हो ।
त्यसैगरी सांस्कृतिक, सामाजिक कार्यहरुमा पार्टीप्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन पनि प्रतिबन्ध लगाईएको छ ।