नेपालगन्जः कोरोना भाइरसको जोखिम बढेसगैं बाँके प्रशासनले नेपालगन्ज ‘लक डाउन’ गरेकोछ । बाँके प्रशासनले नेपालगन्ज ‘लक डाउन’ गरेसगैं अब नेपालगन्जका सम्पूर्ण पसल व्यवसाय बन्द हुनुका साथै सर्वसाधरणको आवागमन पनि रोकिनेछ ।
आईतबारदेखि लागु हुनेगरि बाँके प्रशासनले नेपालगन्जका खाद्यान्न, औषधि लगायत अत्यावश्यक बाहेकका सम्पूर्ण पसल व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।
संक्रमणको यो कठिन घडीमा कोरोनाको उच्च जोखिम भएको नेपालगन्जलाई सुरक्षित पार्न ‘लकडाउन’ गर्नुपर्ने अवस्था आएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा शनिबार बसेको कोरोना पूर्व तयारीका लागि गठित जिल्ला स्तरीय टास्क फोर्सको वैठकले यस्तो निर्णय गरेको हो ।
बजार बन्द गराउनका लागि आईतबार बिहानदेखी माईकिङ्ग सहितको सूचना जारी गरिने नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले सेतोखरीलाई जानकारी दिइन् ।
यस्तै बैठकले बैठकमा नेपालगन्ज बजार बन्द गर्ने, आईतबारसम्म लायन्स डेण्टल अस्पतालमा ४० बेडसहितको र खजुरा क्यान्सर अस्पतालमा आइसोलेसन स्थापना गर्ने, वडास्तरमा क्वारेन्टाइनका लागि स्थानीय तहलाई अनुरोध गर्ने, सेल्फ आइसोलेसनका लागि आम नागरिकमा आव्हान गर्ने, कोरोना विरुद्ध राज्यले गरेको निर्णय कार्यान्वयनका लागि कडाईका साथ प्रस्तुत हुने लगायतका निर्णय गरिएको छ ।
यस्तै बैठकले जमुनाह नाका पुर्ण रुपमा बन्द गर्नका लागि माथिल्लो निकायमा कुटनैतिक पहल गर्नका लागि अनुरोध गर्ने निर्णय गरेकोछ ।
विश्वका सयौं मुलुकमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध तयारीका रूपमा हेरिएको ‘लकडाउन’ कुनै पनि मुलुकका लागि बाध्यात्मक परिस्थिति हो । अर्को शब्दमा भन्दा यो ‘होम क्वारेन्टाइन’को अवस्था हो ।
छिमेकी मुलुक भारतले पनि ‘लकडाउन’ कै स्वरूपमा ‘जनता कर्फ्यु’ लगाउने निर्णय गरिसकेको छ । जानकारहरूका अनुसार अहिले हुने चर्चा भएको ‘लकडाउन’ कोरोनाको महामारी एक स्थानबाट अर्को स्थानसम्म नफैलियोस् भन्नका लागि अपनाइएको कठोर सुरक्षा हो ।
‘लकडाउन’ पुरै मुलुकमा नभएर निश्चित क्षेत्रमा बढी प्रभावकारी मानिन्छ । ‘लकडाउन’ भएको अवस्थामा विभिन्न क्षेत्रको भौतिक सम्बन्ध निश्चित समयका लागि विच्छेद सम्भावना रहन्छ ।
‘लकडाउन’ को मुख्य उद्देश्य भनेकै मानिसको भीड कम गर्नु हो । त्यही नीतिअनुसार नेपालमा पनि सरकारले यसअघि नै २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरिसकेको छ ।
यसबाहेक स्कुल, कलेज, डान्सबार, जिम, सिनेमा हल, सभा समारोह पनि तत्कालका लागि स्थगित भइसकेका छन् । शुक्रबारबाट देशभरका अदालतसमेत बन्द भएका छन् । सार्वजनिक यतायतमा पनि सुरक्षा अपनाइएको छ । सरकारले निश्चित समयका लागि होटल, रेस्टुरेन्ट, सार्वजनिक यातायात र सरकारी कार्यालयसमेत बन्द गरेकोछ ।