जुमनाह नाका एक हप्ता बन्द


जुमनाह नाका एक हप्ता बन्द

नेपालगन्ज: नेपालगन्जस्थित जमुनाह नाका बन्द गरिएको छ । आईतबार नेपाल र भारतीय सुरक्षा निकायका प्रमुखहरुको छलफलबाट जमुनाह नाका एक हप्तालाई शील गर्ने सहमति भएको हो ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण बढ्न नदिन सीमानाका बन्द गरिएको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बताउँछन् ।

आईतबार बिहान बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, बाँके प्रहरी प्रमुख वीरबहादुर ओली, शसस्त्र प्रहरी गुल्म ३० नम्बर गणका प्रहरी उपरीक्षक दीपक अधिकारी र भारत बहराईच जिल्ला अधिकारी शम्भु कुमार, बहराईचका एसपी बिपिन कुमार मिश्रा सहितको दुईपक्षिय छलफलका क्रममा सीमा नाका बन्द गर्ने बारे सहमति भएसँगै जमुनाह नाका एक हप्ताका लागि बन्द गरिएको हो ।

शुक्रबारदेखी सवारी साधनमा रोक लगाएपनि पैदल यात्रीहरुलाई भने आवागमनकालागि छुट गरीएको थियो । सीमा नाका बन्द गर्ने निर्णय भएसँगै अब पैदलयात्रु तथा सवारी साधन सञ्चालन हुन पाउने छैन । यद्यपी अत्यावश्यक सामग्री ढुनावी तथा एम्बुलेन्सको हकमा आवश्यकता अनुसार आवागमन गर्न दिने सहमती भएको छ ।

सीमावर्ती भारतीय बजार रूपैडिहा पनि पूर्ण रुपमा बन्द हुने भएको छ । नेपालगन्ज बजार बन्द भएसँगै छिमेकी बजार रूपैडिहा बन्द गर्न बहराईच जिल्ला अधिकारी शम्भु कुमारले निर्देशन दिएको स्रोतले जनाएको छ ।

कोरोना भाइरसको जोखिम बढेसगैं बाँके प्रशासनले नेपालगन्ज ‘लक डाउन’ गरेकोछ । तर, यहाँको बजार आशिंक रुपमा मात्रै बन्द गरिएको छ । यसले बाँकेका सिडिओको निर्देशन यहाँका व्यवसायीले पूर्ण रुपमा पालना गरेका छैनन् ।

संक्रमणको यो कठिन घडीमा कोरोनाको उच्च जोखिम भएको नेपालगन्जलाई सुरक्षित पार्न ‘लकडाउन’ गर्नुपर्ने अवस्था आएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काको अध्यक्षतामा शनिबार बसेको कोरोना पूर्व तयारीका लागि गठित जिल्ला स्तरीय टास्क फोर्सको वैठकले यस्तो निर्णय गरेको थियो ।

थप समाचार पढ्नुस्

बोर्डर बन्द गरौं !