सिड्नी:अष्ट्रेलियन संघीय सरकारले आगामी ४८ घण्टाभित्र राज्यका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ । रोनाभाइरसको संक्रमण फैलनबाट रोक्न प्रधानमन्त्री स्कट मोरिसनले अत्यावश्यक बाहेकका सेवा बन्द गरिने घोषणा गरेका हुन् ।
सोमबार अपरान्हदेखि लागू हुने उक्त नियमले देशभरका पब, क्लब, खेलकूद, धार्मिक केन्द्र, सिनेमाघर, मनोरन्जनस्थल लगायत सेवा बन्द हुनेछन् । प्रधानमन्त्रीले एनएसडब्लु लगायत अन्य केही राज्यका स्कूलहरु बन्द नहुने बताएका छन्, तर भिक्टोरिया सरकारले भने मंगलबारदेखि राज्यका स्कूलहरुमा बिदा दिने निर्णय गरिसकेको छ। रेष्टुरेन्ट र क्याफेहरु ‘टेक अवे’को लागि मात्र खोल्न सकिने प्रावधान सरकाले ल्याएको छ ।
आईतबार राति सम्पन्न संघीय, राज्य र प्रादेशिक सरकारबीचको मन्त्रीस्तरीय बैठकपछि प्रधानमन्त्री मोरिसनले उक्त घोषणा गरेका हुन् ।
यस अवधिमा अत्यावश्यक सेवाहरुको सुचीमा पेट्रोल स्टेसन, सुपर मार्केट र औषधि पसल, खाना डेलिभरी गर्ने संस्था पर्ने छन् । त्यसबाहेक राज्यका सबै निकायहरु ठप्प हुने छन् ।
यस्तै अस्ट्रेलियन सरकारले यस महामारीबाट देशको अर्थतन्त्रलाई कमजोर बन्न नदिन्न करिब १४ अर्ब डलरको राहत प्याकेज घोषणा गरिसकेको छ । दोस्रो चरणमा थप ६६.१ अर्ब डलरको सहायता प्याकेज ल्याएको छ ।
अष्ट्रेलियाली अर्थतन्त्रमा पर्न सक्ने असरलाई मध्यनजर राख्दै सरकारले दोस्रो चरणको राहत प्याकेज घोषणा गरेको हो । जागिर गुमाएकाहरुलाई राहत दिन र बिग्रदो व्यवसायहरुलाई जीवन्त राख्न अर्थमन्त्री जोश फ्राईडेनबर्गले यो सहायता प्याकेजको घोषणा गरिएको बताए ।
सरकारको आर्थिक सहायता प्याकेज
ज्यालादारी ,सेवानिवृत्त भएका र काम नपाएका र यसअघि नै भत्ता पाउँदै आएकाले यस राहत कोषबाट थप आर्थिक सहयोग पाउने भएका छन् । यस्तै व्यवसायलाई जीवन्त राख्न आर्थिक सहायता प्रदान गरिनेछ ।
यस सहायता अन्तर्गत अभिभावक भत्ता, बेरोजगार भत्ता, युवा बेरोजगार भत्ता, कृषक भत्ता र अन्य विशेष भत्ता पाउनेहरुका लागि प्रत्येक दुई हप्तामा थप ५५० डलर प्रदान गरिने भएको छ । यस्तै काम गुमाएका पुष्टि हुने दैनिक ज्यालादारी र एकल व्यवसायीलाई पनि सहायक भत्ता दिइने भएको छ । हाल बेरोजगार भत्ता पाउनेहरुले प्रत्येक दुई हप्तामा १,१०० डलरसम्म पाउन सक्ने छन् । आगामी छ महिना सम्मको लागि मात्र प्रदान गरिने यो आर्थिक सुविधा हाल पाउने भत्ता सुविधामा थप गरिएको हो ।
सामाजिक भत्ता ,पुर्व सैनिक भत्ता र अन्य सहुलियत कार्ड रहेकाहरुका लागि गत प्याकेजमा घोषणा गरिएको ७ सय ५० डलरको आर्थिक सहायतालाई डबल पारिने भएको छ । पेन्सनसरहकालाई मध्यनजर गरेर यो सहयाता रकम डबल पारिएको हो । यस्तै यस रोगका कारण आर्थिक संकटमा परेकालाई सुपरएनुएसन झिक्ने अनुमति समेत दिइने भएको छ ।
कोरोनाभाइरसका कारण आर्थिक संकटमा परेका अष्ट्रेलियालीलाई प्रत्येक आर्थिक वर्षमा १० हजार डलर आफ्नो सुपरएनुएशन बचतबाट प्रयोग गर्न सक्ने नियम बनाइने भएको छ । –सेतोपाटीबाट