कैलालीमा अनिश्चितकालीन कर्फ्यु, सीमामा सयौं नेपाली अलपत्र


कैलालीमा अनिश्चितकालीन कर्फ्यु, सीमामा सयौं नेपाली अलपत्र

नेपालगन्ज: कोरोना भाइरसको जोखिम बढेसगैं कैलाली जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन कर्फ्यू जारी गरेकोछ । कैलालीले सोमबार दिउँसो २ बजेपछि जिल्लाभर अनिश्चितकालीन कर्फ्यू लगाएको हो ।

कैलाली र कञ्चनपुरमा भारतीय क्षेत्रबाट ठूलो संख्यामा सर्वसाधारण आउन थालेपछि त्यसलाई रोक्न कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालयहरुले जनाएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म कैलाली जिल्लामा कर्फ्यू जारी गर्ने निर्णय गरेको हो । योसगैं जिल्लामा सवारी साधन र आवतजावत पूर्णरूपमा निषेध गरिएकोछ ।

सो अवधिमा जिल्लामा भिडभाड नगर्न सबैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । उनका अनुसार ‘कर्फ्यू अवधिमा विद्युत, खानेपानी दूरसञ्चार पेट्रोल पम्प, औषधि, भोजनालयबाहेक सबै पसलहरु बन्द रहनेछन् ।’

यसैबीच कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा भारतबाट स्वदेश फर्किरहेका तीन सय बढी नेपाली रोकिएका छन् ।
सीमा नाका बन्द भएपछि भारतबाट फर्किएका तीन सय बढी गड्डाचौकीको दशगजा क्षेत्रमा रोकिएका हुन् ।

यतिबेला उनीहरुलाई गन्तव्यसम्म कसरी पुगाउने भन्ने विषयमा जिल्ला स्थित सम्बद्ध सरोकारवालासंग छलफल भईरहेकोछ । सीमामा रोकिएकाहरुले पनि जसरी भएपनि गन्तव्यमा प¥याईदिन सरकारसँग आग्रह गरेका छन् । यसअघि आज बिहान बर्डर बन्द हुनु अगावै गड्डाचौकी भएर सयौँ नेपाली फर्किसकेका छन् ।