क्वारेन्टाइनबाटै नेपाली भागेपछि ‘जनता कर्फ्यू’

प्रशासनको चरम लापरवाही: कोरोनाको जोखिम बढ्दैं


क्वारेन्टाइनबाटै नेपाली भागेपछि ‘जनता कर्फ्यू’

महेन्द्र बहुमुखी क्याम्पसको अस्थायी क्वारेन्टाइनमा राखिएका नेपाली नागरिक पर्खाल नाँघेर भाग्दै I तस्वीर: सेतोखरी

नेपालगन्ज: महेन्द्र बहुमुखी क्याम्पसमा रहेको अस्थायी क्वारेन्टाइनबाटै नेपाली भागेपछि आत्तिएको बाँके प्रशासनले मंगलबार बिहानैदेखि ‘जनता कर्फ्यू’ लगाउने निर्णय गरेकोछ ।

भारतमा कोरोना भाइरसको जोखिम बढेसँगै नेपाल फर्किएका आमनागरिकलाई बाँके प्रशासन र नेपालगन्ज उपमहानगरपालिकाको पहलमा महेन्द्र बहुमुखी क्याम्पसमा राखिएको थियो । तर, क्याम्पसमा आफूहरू असुरक्षित भएको महसुस गर्दै नेपालीहरू भागेपछि बाँके प्रशासनको टाउकको दुखाई भएको छ ।

प्रशासनको फितलो सुरक्षाका कारण क्वारेन्टाईनमा राखिएका नागरिक भागेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जिल्लाका सबै सुरक्षा निकायका प्रमुखलाई बोलाई मंगलबार ‘जनता कर्फ्यू’ लगाउने घोषणा गरेका हुन् ।

प्रशासनको फितलो सुरक्षा र प्रमुख जिल्ला अधिकारी खड्काको चरम लापरबाहीका कारण सरकारको निर्णय र निर्देशन बाँकेमा प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् । प्रशासकका हिसाबले पनि यहाँका प्रजिअ खड्काले आफनो अधिकार प्रयोग गर्न नसक्दा दिनप्रतिदिन समस्या र आमनागरिकमा त्रास उत्पन्न भइरहेको छ ।

सरकारले बोर्डर सील गर्न दिएको निर्देशन समेत बाँकेका सिडिओ खड्काले पूर्ण रूपमा पालना गर्न सकेको देखिदैन् । संघीय सरकार र स्थानीय तह तथा बाँके प्रशासन र आमनागरिकले बोर्डर पूर्ण रूपमा बन्द गर्न अपील गर्दा पनि सिडिओ खड्काले सोमबारसम्म जमुनाह नाका पूर्ण बन्द गर्न सकेका छैनन् ।

सिडिओ खड्काकै अध्यक्षतामा बसेको बैठकले यसअघि नेपालगन्जलाई लकडाउन गरिसकेको छ । तर, लकडाउनको मापदण्डविपरित सिडिओ आफै जमुनाह नाका खुल्ला गरिरहेका छन् । बजार व्यवसाय पूर्ण रूपमा बन्द हुन सकेका छैनन् । बाँके प्रशासन र बाणिज्य कार्यालयले अनुगमन गर्न चासो देखाएको छैन् । बजारमा कालोबजारी छ । उपभोक्ता मारमा छन् । सिडिओ र सम्बन्धीत निकाय कानमा तेल हालेर बसेका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काको ‘डिसिजन पावर लेस’कै कारण यहाँ दिनदिनै सरकारी निर्णय उल्लघन भइरहेको छ । सरकारको निर्णय आमनागरिकबाट नभई बाँके प्रशासनबाटै भएको जानकार बताउँछन् । आफ्नै निर्णय कार्यान्वयन गर्न नसकेको कारण बाँके प्रशासन र सिडिओ खड्का नै नियम पालनामा असफल देखिएका छन् ।

उनीहरुको यस्तो लापरबाही र गैरजिम्मेवारी कार्यले बाँके मात्र नभइ सिंगो देश नै कोरोना भाइरसको जोखिममा परेकोछ । बाँके प्रशासन तथा सिडिओ खड्काकै लापरबाही र फितलो सुरक्षा व्वस्थापनका कारण महेन्द्र बहुमुखी क्याम्पसमा रहेको अस्थायी क्वारेन्टाइनमा पु¥याइएका नेपाली नागरिक सोमबार क्वारेन्टाइनबाटै भागेका छन् । यसले गर्दा बाँकेबासी निकै त्रसित बनेका छन् । कोरोनाको संक्रमणमा रहेको भारतबाट आएका नेपाली क्वारेन्टाइनबाटै भागेपछि नेपालगन्ज कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ ।

आईतबार रातीदेखि बोर्डरमा रहेका करिब पाँचसय नेपालीलाई सोमबार बिहान नेपालगन्ज उपमहानगरपालिकाले महेन्द्र बहुमुखी क्याम्पसमा ल्याएर राखेको थियो । तर, क्वारेन्टाइनमा रहेका नै भागेपछि यतिबेला बाँके प्रशासन, प्रहरी र उपमहानगरपालिकाकै टाउको दुखाई भएको छ ।
क्वारेन्टाइनबाटै नेपाली भागेपछि सुरक्षा व्यवस्था कडा बनाइएको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बताउँछन् । क्वारेन्टाइनमा राखिएका नेपाली नै एकाएक भाग्न थालेपछि कोरोना संक्रमणको जोखिम बढेको उनले बताए ।

उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार ५ सय ५३ जना र पछि थप केही जनालाई क्वारेन्टाइनमा राखिएको थियो । तीमध्ये अधिकांश युवाहरु भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । नेपालगन्ज हुँदै कर्णालीका पहाडी जिल्ला जानुपर्ने भएको र दुःख पाइयो भन्दै क्वारेन्टाइनमा राखिएकाहरु फरार भएका हुन् ।

क्याम्पसको पर्खाल नाघेर भाग्दै गर्दा प्रहरीलाई रोक्नसमेत हम्मेहम्मे परेको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज एवं प्रहरी निरीक्षक हरिबहादुर बस्नेत बताउँछन् ।

कोरोनाविरुद्ध अभियान सञ्चालन भइरहे पनि स्रोत साधनको अभाव र बाँके प्रशासनको उदासिनताका कारण व्यवस्थापनमा समस्या देखिएको छ । सरकारले सोमबारदेखि सात दिनका लागि भारतसँगका सबै नाकामा मानिसको आवागमन बन्द गरिदिएको छ ।