डुडुवा गाँउपालिकामा माईकिङ, घरबाहिर निस्कन रोक


डुडुवा गाँउपालिकामा माईकिङ, घरबाहिर निस्कन रोक

डुडुवा (बाँके):कोरोना भाइरसको संक्रमणको जोखिम बढदै गएपछि स्थानीय सरकारको रुपमा रहेको बाँकेको डुडुवा गाउँपालिकाले नागरिकहरुलाई सचेत तथा सर्तकर्ताका लागि अभियान शुरु गरेको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको अध्यक्षतामा आज बसेको स्वास्थ्यकर्मी सम्मलित बैठकले जोखिम न्यूनीकरणका पुर्व तयारीका बारेमा छलफल गरेको छ ।

बैठकले कोरोनाको संक्रमणको जोखिमबाट बच्ने उपाय तथा सवाधानी बारे सचेतनामुलक सन्देशसहितको माइकिङ्ग गर्ने, प्रचारप्रसार सामाग्री व्यानर सार्वजनिक स्थानमा टास्ने, सीमा नाका अन्र्तगत रहेका ३ वटा हेल्थ डेस्कको अनुगमन गर्ने, गाउँपालिकाका सम्पुर्ण स्वास्थ्यकर्मीलाई विदामा नबस्न आग्रह गर्ने, कार्यका बारेमा कार्ययोजना निमार्ण गर्ने लगायत निर्णय गरेको छ ।

बैठकमा आइसोलेसन र क्वराइन्टईन केन्द्रको व्यवस्थापन गर्ने विषयमा स्थानको छनोट गरि तत्काल स्थापना गरिने भएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले सम्पुर्ण गाउँबासीलाई जोखिमबाट बच्न तथा सावधानी अपनाउन अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेकाछन् ।

उनले कोरोना भाइरसको जोखिमलाई मध्यनजरगर्दै माइकिङमार्फत सचेतीकरण गर्ने र घरबाहिर निस्कन रोक लगाउने तयारी गरिएको बताए ।
यस्तै व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिन अपील गर्दै गाउँपालिकाले यसबारे थप प्रभावकारी अभियान तथा व्यवस्थापन गर्ने बताए ।

गाउँपालिकाले अहिले हिरिमिनियाको उद्यमगन्ज, बेतहनीको नयाँबस्ती र होलियाको खडैचा पिप्रहवा गरि ३ नाका र गाउँपालिका, वडा कार्यालय र स्वास्थ्य चौकीमा गरि १७ स्थानमा हेल्थ डेस्क स्थापना गरि स्वास्थ्य परीक्षणको कार्य भईरहेको प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले बताए । गाउँपालिकाले अहिले सबै सेवाहरु बन्द गरेको छ । भने कर्मचारीहरु मात्र कार्यालयमा आएर प्रशासनिक कार्यहरु गरिरहेका छन ।