कर्फ्यू लगाउनुहोस् ‘सिडिओसाप’


कर्फ्यू लगाउनुहोस् ‘सिडिओसाप’

लकडाउन उल्लङ्घन गर्दै बुधबार ५ बजेपछि त्रिभुवन चोकमा नेपालगन्जिया । तस्विरः विजय मल्ल /सेतोखरी

नेपालगन्ज: सरकारले घोषणा गरेको लकडाउन नेपालगन्जियाले पूर्णरुपमा उल्लंघन गरेका छन् । बाँके प्रशासनको चरम उदासिनता, लापरबाही र कमजोर प्रशासनिक क्षमताका कारण नेपालगन्जियाले सरकारको घोषणा र बाँके प्रशासनको जनता कर्फ्र्यूलाई हरेक दिन साँझ ५ बजेपछि उल्लङ्घन गर्दै आएकाछन् ।

तर, बाँके स्थित सुरक्षा संयन्त्र साँझ ५ बजेपछि पनि बाँकेलाई लकडाउन गर्ने कुनै तयारीमा देखिदैन । मंगलबार र बुधबार साँझ ५ बजेपछि नेपालगन्जका सुर्खेतरोड, त्रिभुवन चोक, सदरलाईन, अस्पतालरोड, रानीतलाउ, न्यूरोड, बसपार्क लगायतका स्थानहरुमा नेपालगन्जियाहरुको हालिमुहालि नै चलेको थियो ।

उनीहरु निर्धक्कका साथ सडकमा गफिएका थिए । तर, सुरक्षार्थ वा सरकारको लकडाउन कार्यान्वयनमा खटिएको प्रहरी लकडाउनको अवस्थामा उनीहरुलाई घरभित्र पठाउनुको सट्टा उनीहरुसगैं गफिन ब्यस्त थिए । यसले पनि बाँके प्रशासन सरकारको निर्णय पालन गर्ने र गराउने काममा कमजोर देखिएकोछ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का पनि यस विषयमा निरिह बन्दै गएका छन् । बजारभरि सर्वसाधरणको भीड भइरहँदा कोरोना संक्रमणको अत्याधिक जोखिम बढेको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि बाँकेमा जनता कर्फ्र्यू र लकडाउन घोषणा गरेर हुनेवाला छैन ।
बाँके प्रशासनले बाँकेमा कोरोनाको जोखिम रोकथाम गर्ने नै हो भने यहाँका नागरिकलाई कैदी बन्दि जस्तै घरभित्र थुनेर राख्न ‘कर्फ्यू’ लगाउनुको विकल्प देखिदैन ।

यसतर्फ बाँके प्रशासनमा सुरक्षा संयन्त्र तथा सिडओ खड्काको तत्काल ध्यान जाओस् । लकडाउन अटेरी गरि सडकमा उत्रिने नेपालगन्जियालाई घरभित्र बसाल्न र कोरोना रोकथाम गर्न कर्फ्यू लगाउनु पर्ने देखिन्छ ।