लकडाउन तोड्दै नेपालगन्जियाः कर्फ्यू लगाउने तयारीमा सिडिओ

नेपालगन्जबासीको दैनिकीः दिनभरी कोठा, साँझपरे सडक


लकडाउन तोड्दै नेपालगन्जियाः कर्फ्यू लगाउने तयारीमा सिडिओ

लकडाउन उल्लङ्घन गर्दै बुधबार ५ बजेपछि त्रिभुवन चोकमा नेपालगन्जिया । तस्विरः विजय मल्ल /सेतोखरी

नेपालगन्जः न उनको अत्यावश्यक काम नै थियो, न उनी सञ्चारकर्मी न उनी बर्दीविनाका सुरक्षाकर्मी न स्वास्थ्यकर्मी नै । बुधबार बेलुका ५ः२० बजे नेपालगन्जको त्रिभुवन चोक, सदरलाईन, रानी तलाउ, अस्पताल रोड, विपी चोक लगायतका मुख्य ब्यापारिक क्षेत्रमा यस्तै यस्तै सयौं मान्छेको भीडभाड देखिएको थियो । त्यो भीड अहिले पनि यथावत छ ।

उनीहरु कुनै काममा हतारिएका वा कुनै समस्याले सडकमा उत्रिएका थिएनन् । न त उनीहरुका हातमा उपभोग्य बस्तु वा सामान नै थियो न त त्यसका लागि जादै थिए । केवल सडकमा निर्भयरुपमा बेफिक्र आफ्नै उन्मातमा रुमलिरहेका थिए ।

सरकारले कोरोना भाइरसबाट बच्न देशभर लकडाउन गरिरहेकोछ । आज दोस्रो दिन । बाँकेको नेपालगन्जमा पनि बाँके प्रशासनले लकडाउनका साथै जनता कर्फ्यू कायमै राखेकोछ । तर, यसको कुनै प्रभाव नगरि पाँच बजेपछि नेपालगन्जिया सडका उत्रिएकाछन् ।

आईतबार मात्रै फ्रान्सबाट आएकी १९ वर्षीया एक युवती कोरोना पोजेटिभ भेटिएको ३ दिन भित्र अर्को कोरोना भाइरस संक्रमित भेटिरहदाँ सरकारले लगाएको देशब्यापी लकडाउनलाई नै लत्याउदै नेपालगन्जियाहरु घमण्डका साथ सडकमा विजय हाँसिल गरेझैं उन्मातले मात्तिएर हिडिरहँदा बाँके प्रशासनले लकडाउन प्रभावकारि बनाउन नसकेको प्रष्ट भएकोछ ।

जनता आफैँ नै अनुशासित भएर संक्रमण रोक्न स्वःस्फूर्तरूपमा तयार होऊन भन्ने हाम्रो चाहाना रहेको थियो बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले भने –‘कसैले समाजमै रोग फैलनसक्ने गरी गैरजिम्मेवार व्यवहार गरेमा राज्य बल प्रयोग गर्न बाध्य हुनुको विकल्प देखिएन ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काले भने–‘विहीबार विहानको अवस्थालाई हेरेर यदि सरकारको लकडाउन यसैगरि नेपालगन्जियाले उल्लङघन गर्दै गएभने विहीबार साँझदेखि बाँकेमा कर्फ्यू लगाउने तयारीमा प्रशासन रहेकोछ ।’

सेतोखरीसंग विशेष कुराकानी गर्दै बुधबार साँझ सिडिओ खड्काले विश्वब्यापी महामारी बनेको कोरोना भाइरसको जोखिमबाट बाँकेलाई बचाउन कुनैपनि कसर बाँकी नराख्ने बताए । उनले –यसका लागि बुधबार साँझनै बाँके प्रहरी प्रमुखलगायत सुरक्षा संयन्त्रका सवै निकायलाई आफूले निर्देशन दिइसकेको सेतोखरीलाई बताए । उनले भने–‘मान्छे हुन्, गोली हान्नु भएन, सम्झाउदा मान्दैनन्, अब कर्फ्यूको विकल्प छैन ।’

उनले भने राम्रोसगं सूचना गर्दा नेपालगन्जियाले त्यसको प्रभाह गरेनन् उनीहरुले संक्रमणको यो कठिन घडिमा पार्टीगत बन्द जस्तै लकडाउनलाई सोचेँ, यो त्यस्तो होइन । सिडिओ खड्काका अनुसार कर्फ्यू लगाइएमा अहिले जसरी अत्यावश्यक सामानका लागि घरबाहिर आउन पाइएको छ, पछि त्यो पनि पाइदैन ।

उनले बुधबार साँझ बजारमा मान्छेको लहर देखेपछि जिल्ला स्थित सुरक्षा संयन्त्रसंग छलफल गरि विहीबार पनि नागरिकले यसैगरि लकडाउन तोडे कर्फ्यू नै लगाउने तयारीमा आफूहरु पुगेको जानकारी दिए ।

लोकतान्त्रिक शासन प्रणाली भएको नेपालमा लकडाउनका अवधिमा अहिलेसम्म बल प्रयोग नगरिएको बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओलीले बताउँछन् । उनका अनुसार –‘नागरिकले नै संयम अपनाएर आ–आफ्नो दायित्व पूरा गर्नुपर्छ ।’

यो हामीले अपेक्षा गरेका हौं तर, बाँकेमा नागरिक संवेदनशील भएको देखिएन । उनले भने –‘अब जिल्ला स्तरीय सुरक्षा समितिले नेपालगन्जको यो दादागीरी तोडी सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयनका लागि थप रणनीति बनाउदै छ ।’

बहुसंख्यकको जीवनको रक्षाका लागि बिज्याइँ गर्नेहरूलाई कानूनबमोजिम नियन्त्रण गर्ने अधिकार जनताले नै राज्यलाई दिएका छन् । अब बाँके प्रशासनले यति अधिकार प्रयोग गर्ने अवस्था देखिएको कानून व्यवसायी विकास आचार्य बताउँछन् ।

उनले थपे–‘नेपालमा पनि सरकारलाई जनहितका लागि आवश्यक परेमा बल प्रयोग गर्ने प्रावधान भएका कानूनहरू छन् । यसैले सरकारले केही दिनका लागि लकडाउनलाई प्रभावकारी बनाउन आवश्यक परे बल प्रयोग गर्न सक्नुपर्छ ।’

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ की धनसरा मल्लले भनिन्–‘सरकारले कोरोना भाइरसबाट बच्नका लागि चालेको लकडाउन कदमलाई खेलाँची ठान्नेहरूले आफ्नो र अरूको जीवन जोखिममा पारिरहेकाछन् ।’ उनले थपिन्–‘बाँकेको नेपालगन्जमा लकडाउनलाई अवज्ञा गरेर हेलचेक्य्राइँ गर्नेहरूमाथि कारबाही गरिनुपर्छ ।’