स्थानीय तह जिम्मेवारीबिहीन
File Photo
नेपालगन्ज: क्वारेन्टाइन स्थल मानवीय आधारभूत आवश्यकता पूरा हुन सक्ने हुनुपर्छ । बस्तीभन्दा अलि टाढा हुनुपर्छ । यातायातको सुविधा हुनुपर्छ । सञ्चार र खानेपानीको सुविधा हुनुपर्छ ।
सरसरफाइ हुनुपर्छ । कसैलाई संक्रमणको लक्षण देखियो भने तुरुन्तै अस्पताल लान सक्ने गरी एम्बुलेन्सलगायतको आवश्यक सुविधा हुनुपर्छ । बसेका मान्छेहरूलाई सकारात्मक काउन्सिलिङ हुनुपर्छ । तर, बाँकेको नेपालगन्जमा रहेको अस्थायी क्वारेन्टाइनमा यी कुनैपनि प्रावधान पुरा गरिएका छैनन् ।
महेन्द्र बहुमुखी क्याम्पसमा रहेको अस्थायी कवारेन्टाइनमा समस्या नै समस्याबाट ग्रसित बनेको छ । उक्त क्वारेन्टाइनमा खानेपानीको समेत उचित व्यवस्थापन छैन् । क्वारेन्टाइनमा बुधबार बेलुकादेखि तीन जना नागरिकलाई राखिएको छ । फ्रान्सबाट आएर लुकि बसेका भनिएका चार जनामध्ये तीन जनालाई बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीको सक्रियतामा खोजी बुधबार बेलुका नै क्वारेन्टाइनमा राखिएको थियो ।
कोरोना संक्रमणको आशंकामा उनीहरूलाई त्यहाँ राखिएपनि बिहीबार विहान नौ बजेसम्म उक्त क्वारेनटाइनमा खानेपानीको समेत व्यवस्था हुन सकेको थिएन ।
क्वारेन्टाइनमा खानेपानीको समेत अभाव भएपछि ती नागरिकले आफूहरू पानीबीनै यहाँ बस्न नसक्ने बताएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले ती तीनजनालाई क्वारेन्टाइनमा राख्न आदेश दिएका थिए । तर, उनले उनीहरूका लागि आवश्यक खाद्य बस्तु र औषधीउपचारको अहिलेपनि कुनै व्यवस्था गर्न सकेका छैनन् । यसले क्वारेन्टाइनमै रहेकाहरूको अवस्था दयनीय बनिरहेको छ । उनीहरू थप जोखिममा देखिएका छन् ।
क्वारेन्टाइनमा उनीहरुको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी गरी तीन तहको व्यवस्था गरिएको क्वारेन्टाइनको सुरक्षा कमाण्ड सम्हालेका सेनाका क्याप्टेन बिकास लिम्बुले बताए । उनले भने ‘हामीले सुरक्षाको प्रबन्ध मिलाएका छौ । अरू थाहा भएन् ।’
क्वारेन्टाइनमा खटिएका नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दका अनुसार क्वारेन्टाइनमा मान्छे ल्याएर राखिएको छ । तर, उनीहरूका लागि खानेपानीदेखि चियासम्मको पनि व्यवस्था हुन सकेको छैन् ।
क्वारेन्टाइनमा रहेका तीन जनाले बिहीबार विहान नौ बजेसम्म पानी समेत खान नपाएको उनी बताउँछन् । तर, बाँके सिडिओदेखि उपमहानगरपालिका यस बिषयमा अहिले पनि उदासिनै देखिएको छ ।
सीमानाकामा पुगेर ठूला–ठूला स्वरमा गफिने सिडिओ खड्का उपमेयर उमा थापालगायतका जनप्रतिनिधी समेत उनीहरुलाई पानी समेत उपलब्ध गराउने बिषयमा गम्भीर हुन नसकेको देखिएको छ ।
क्वारेन्टाइनमा रहेकाहरूका लागि खानेपानी, साबुन लगायतका अत्यावश्यक बस्तुहरूका साथै खानाको समेत व्यवस्थापन हुन सकेको छैन् । यसैले उनीहरू कोरोनाको संक्रमण भन्दा पनि क्वारेन्टाइनको अस्तव्यस्तलाले झनै जोखिममा देखिएका छन् ।