नेपालगन्जः भारतमा कोरोना संक्रमण बढेसँगै नेपाल फर्किएका एक दर्जनबढी नेपाली नेपाल–भारत सीमानाका जमुनाहमा अलपत्र परेका छन् । उनीहरू जमुनाहमा रहेको शसस्त्र प्रहरीको हेल्प डेक्समा दिनरात कटाउँन बाध्य छन् ।
बुधबार बेलुकी त्यहाँ आइपुगेका उनीहरूलाई बुधबार बेलुका जमुनाहस्थित नेपाल प्रहरीले एक छाक भात खुवाएपनि उनीहरूले बिहीबार विहान दश बजेसम्म पानीभन्दा अरू खान समेत पाएका छैनन् ।
उक्त हेल्प डेक्सम युवायुवती मात्रे नभई साना दुधे वालक समेत छन् । उनीहरूले समेत समयमा आहारा नपाएको अवस्था छ । उनीहरूले आफुहरू सहज रुपमा घर जान पाउनुपर्ने बताएका छन् । तर, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जमुनाहमा आएका नेपालीलाई त्यहि रोकन आदेश दिएपछि जमुनाह प्रहरीले उनीहरूलाई घर जान नदिएको खुलेको छ । त्यहि रोक्ने आदेश दिएका सिडिओले उनीहरूका लागि खानेपानीदेखि खान नास्ताको व्यवस्थापनका लागि बिहीबार विहानसमम कुनै चासो देखाएका छैनन् ।
बाँके सिडिओको निरिहताका कारण यहाँ सयौं नागरिकले हरेक दिन दुःख पाउँदै आएको अवस्था छ । जमुनाहमा अलपत्र परेका उनीहरूको उद्दारका लागि नेपालगन्ज उपमहानगरपालिका बाँकेका राजनीतिक दल, मानवअधिकारकर्मी, माक्स बाँडेर ठूलै आकाश थेगेको महशुस गर्ने अभियन्ता कसैको पनि ध्यान जान सकेको देखिदैन् ।
यसरी बीचबाटोमा अलपत्र परेका आफूहरूको तत्काल व्यवस्थापन गर्न जरूरी देखिएको सुर्खेतका बलबहादुर सिंह बताउँछन् । आफूहरू कोरोनाको त्रासका कारण भारतबाट ज्यान बचाउँन नेपाल आएको उनले बताए । तर, यहाँबाट घर जानै नपाउँदा बाटोमै ज्यान जाने डरले सताउन थालेको छ उनले भने ‘हाम्रो स्वास्थ्य जाँच गरिओस् । हामीलाई घर जाने वाताववरण मिलाईओस् ।’
भारतमा मालिकले होटल बन्द गरेको र आफूहरूलाई घर जान भनेपछि नेपाल आउनुको विकल्प नभएको बताउँदै दैलेख दुल्लुका रामबहादुर विष्टले भने ‘कि घर जान दिनुहोस् कि खानेबस्ने राम्रो व्यवस्था गनुहोस् ।’
बुधबार राती आएका उनीहरूको अवस्था कमजोर रहेको जमुनाहका प्रहरी प्रमुख सई माधव रिजाल बताउँछन् । बुधबार वेलुका आफनो सक्रियतामा एक छाक खाना खुवाएको उनले बताए ।
तर, बिहीबार विहानदेखि यहाँ पानी बाहेक अरू व्यवस्था हुन सकेको छैन् । सुरक्षामा खटिएका शसस्त्रले प्रति व्यक्ति एक पोका चाउचाउ वितरण गरेका छन सई रिजाले भने ‘एउटा चाउचाउले के पार लाग्छ ?’ उनले उनीहरू व्यवस्थापन आवश्यक रहेको बताए ।