नेपालगन्ज: चिनमा सबै विदेशी नागरिकलाई प्रवेश गर्न नदिने अस्थायी प्रतिबन्ध लगाइएको छ । प्रवेशाज्ञा वा बसोबासको अनुमति भएकाहरू पनि शनिवारबाट चिन जान पाउने छैनन् ।
चिनमा तीन दिनयता पहिलो पटक स्वदेशमै भएको नयाँ सङ्क्रमण फेला परेको थियो । अन्यथा सबैजसो विदेशमै सङ्क्रमित भएकाहरू भेटिएका थिए । बिहीवार चिनमा ५५ जना नयाँ संक्रमित भेटिएकामा ५४ जना विदेशबाट आएकाहरू थिए ।
नयाँ नियममा के छ ?
चिनको विदेश मन्त्रालयले ’कोभिड–१९ को विश्वव्यापी विस्तारका कारण सबै विदेशीलाई प्रवेश नदिने निर्णय’ गरिएको जनाएको छ ।
उक्त प्रतिबन्ध कुटनीतिज्ञ वा विमानका चालकदलका सदस्यहरू बाहेक प्रवेशाज्ञा र बसोबासको अनुमति पाएका विदेशीहरूका निम्ति पनि लागु हुनेछ ।
आपत्कालीन मानवीय सहायतासँग सम्बन्धित वा त्यस्तै क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई अपवाद मानिने बताइएको छ । तर चिनमा कैयौँ विदेशी विमान सेवा कम्पनीहरूले यसअघि नै उडान रोकिसकेको र विभिन्न सहरहरूमा अवतरणमा रोक लगाइसकिएको सन्दर्भमा पछिल्लो निर्णय नाटकीय जस्तो देखिन्छ ।
चिनमा संक्रमण कस्तो छ ?
कोरोनाभाइरस पहिलो पटक चिनमा देखिए पनि त्यहाँ सङ्क्रमितको सङ्ख्या अमेरिकामाभन्दा कम र मृत्यु हुनेको सङ्ख्या इटली र स्पेनभन्दा थोरै छ ।
चिनको न्याश्नल हेल्थ कमिशनले त्यहाँ ८१,३४० जनामा सङ्क्रमण पुष्टि भएको र ३,२९२ जनाको ज्यान गएको शुक्रवार जनाएको छ । पुष्टि भएकामध्ये ५६५ जना विदेशमा सङ्क्रमित भएर गएकाहरू छन् । जसमा विदेशी वा विदेशबाट फर्किएका चिनियाँ नागरिक पर्छन् ।
प्रकोप सुरु भएको हुबे प्रान्तमा बिहीवार नयाँ सङ्क्रमित वा शङ्कास्पद बिरामी भेटिएनन् । प्रान्तको राजधानी वुहानमा ज्यानुअरी महिनामा सुरु भएको लकडाउन ८ एप्रिलबाट खुकुलो बनाइने छ । –विविसी नेपाली