File Photo
नेपालगन्ज:सरकारको निर्णयपछि शुक्रबारबाट नेपाल–चिनतर्फको नाका खुल्ला भएकोछ । नेपाल–चिनतर्फ रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका खुला भएका हुन् ।
माघको १५ गतेबाट औपचारिक रुपमा यी नाकामार्फत् हुने आवात जावत रोकिएको थियो । योसगैं करिब दुई महिनापछि सरकारले नेपाल–चीन व्यापारिक नाका खुला गरेको हो ।
तर, त्यसअघि पुसको मध्यबाटै चीनतर्फको भूभागमा भएको हिमपातले पनि नाका खुले पनि सामान भित्रिन सकेका थिएन । तत्कालका लागि यी नाकाबाट सामान र सवारी आवागमन मात्रै सञ्चालन हुनेछ ।
यसका लागि ढुवानीमा सहभागी हुने चालक, सीमामा रहने सुरक्षाकर्मी, अध्यागमन तथा भन्सारका कर्मचारी, यार्डमा रहने श्रमिकहरु र आयातीत वस्तुमा कोरोना संक्रमणको जोखिम हटाउन डिस्इन्फेक्सन गरिनेछ ।
प्रोटोकलअनुसार चीनबाट तोकिएका चालकले चीनबाट नेपाल भित्रिने कन्टेनर पहिले भन्सार यार्डमा ल्याउनेछन् । त्यसलाई क्वारेन्टाइन विधिअनुसार किटाणुरहित बनाउने काम गरिन्छ । त्यसपछि अर्कै सवारी चालकमार्फत् नेपालको गन्तव्यमा पु¥याइनेछ । अहिले केरुङमा करिब चार सय कन्टेनर सामान नेपालका लागि आइपुगेको अनुमान गरिएको छ ।
नेपाली नाकाबाट चिनतर्फको बजार पुग्न कम्तीमा तीनवटा ठाउँमा स्वास्थ्य जाँच गराउनुपर्नेछ । रसुवा र तातोपानी दुबै नाकाबाट हुने आयातमा चिनतर्फ नेपाली चालकहरुले चिनियाँ नागरिक र मालवस्तुलाई नछुने गरी काम गर्ने तयारी गरिएको छ ।