७ लाखको आकस्मिक कोष स्थापना
डुडुवा (बाँके): कोरोना भाइरसको संक्रमणबाट बच्न बाँकेको डुडुवा गाँउपालिकाले २० वेडको क्वारेन्टाईन बनाउन शुरु गरेकोछ । शुक्रबार गाँउपालिकामा बसेको बैठकले गाउँपालिकामा ३० बेडको क्वारेन्टाइन बनाउने निर्णय गरिएको बताएकोछ ।
गाउँपालिकाको वडा नम्बर २ बेतहनी स्थित स्वास्थ्य चौकी र वडा नम्बर ४ स्थित आधारभुत विद्यालय शाहपुर्वामा १०–१० वटा बेडको क्वारेन्टाइन केन्द्र बनाउने निर्णय भएको अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । यो निर्णयसगैं गाँउमापलिकामा क्वारेन्टाईन बनाउन सुरु गरिएको छ ।
उनका अनुसार गाउँपालिका सीमासंग जोडिएकाले भारतबाट समेत मानिसहरु आउने भएकाले र सरकारको नीति अनुसार क्वारेन्टाईन बनाउन थालिएको छ । अहिले तत्काल दुई वटा स्थानमा १० शैयाको क्वारेन्टाइन बनाउने र पछि आवश्यकता अनुसार वार्ड नम्बर ६ मा समेत १० बेडको क्वारेन्टाइन बनाउने लक्ष्य रहेको अध्यक्ष चौधरीले बताए ।
अहिले गाउँपालिकामा स्वास्थ्य सरसफाई तथा जोखिमबाट बच्नका लागि उच्च सर्तकता अपनाउन र घरबाहिर ननिस्कनका लागि सचेतनामुलक सन्देशसहितको माइकिङ्गको कार्य भईहेको छ । गाउँपालिकाले हरेक नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी प्रत्येक घरधुरीलाई साबुन र मास्कको व्यवस्थापनको समेत तयारी गरेको छ । मानिसहरुलाई अत्यावश्यक अवस्था बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको र जनताले लकडाउनको पालना गरिरहेको पालिका अध्यक्ष चौधरीले बताए ।
यसैगरी कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न तथा प्रभावकारी व्यवस्थापनका लागि बाँके डुडुवा गाउँपालिकाले आकस्मिक कोषको स्थापना गर्ने निर्णय गरेको छ । गाउँपालिकामा आरआरटिको बैठकले कोरोनाबाट उत्पन्न जटिल समस्याको व्यवस्थापन तथा कार्यन्वयनका लागि ७ लाखको आकस्मिक कोष बनाउने निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले कोष बृद्धिका गर्न थप रकम जम्मा गर्नका लागि सबैमा आवहान समेत गर्ने निर्णय गरेको छ । गाउँपालिका अन्र्तगत रहेका सम्पूर्ण कर्मचारीहरुले तीनदिन बराबरको पारिश्रमिक उक्त कोषमा जम्मा गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले बताए ।
उनका अनुसार गाउँपालिका अन्र्तगत विभिन्न शाखामा कार्यरत करिब साढे दुई सय बढी कर्मचारीहरुले आफुले पाउने पारिश्रमिकबाट ३ दिनको पारिश्रमिक जम्मा गर्नेछ । यस्तो जटिल संकटको अवस्थामा मानवीय सहयोगका लागि पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिएको हो ।