नेपालगन्जः कोरोना भाइरसको संक्रमण बढेसगैं देशभर त्रासको वातावरण फैलिएकोछ । पछिल्ला दिन सरकारले कडाईका साथ कोरोना भाइरस आशंकित ब्यक्तिहरुलाई चेकजाँच गर्न थालेपछि कोरोना भाइरस संक्रमणको संख्या बढ्दो छ ।
बाँकेको नेपाल–भारत सीमानाका जमुनाहमा खटिएका एक प्रहरीमा कोरोना भाइरस संक्रमणको आशंका गरिएकोछ । कोरोना भाइरसंग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई यतिबेला क्वारेन्टाईनमा राखिएकोछ ।
बाँके प्रहरीका अनुसार अहिले ती प्रहरीलाई धम्बोझी स्थित सामर्थ ईन होटलमा बनाइएको अस्थायी क्वारेन्टाईनमा राखिएकोछ । यद्यपी उनको परिचय खुलाइएको छैन ।
नेपाल–भारत सीमा जमुनहामा कार्यरत उनी डिउटीका बेला नेपाल–भारत ओहोरदोहोर गर्ने मानिसको निगरानी, चेकजाँचमा सक्रिय थिए । सोही क्रममा उनमा अस्वभाविकरुपमा ज्वोरो आएपछि कोरोना भाइरसको आशंकामा क्वारेन्टाईनमा राखिएको हो ।
यो घटना बाहिरीएसगैं विशेषगरी सीमानाकामा खटिने सुरक्षाकर्मीहरु कोरोना भाइरसको उच्च जोखिममा रहेको प्रष्ट हुन्छ । अझ नेपाल–भारत सीमा नाकामा खटिने प्रहरी हुन अथवा देश नै लकडाउन भएको अवस्थामा लकडाउन प्रभावकारी कार्यान्वयनमा संलग्न सुरक्षाकर्मी सवैजनाले न्यूनतम आवश्यक सामाग्री अभावका कारण ठूलो जोखिम ब्यहोरीरहेकाछन् । सरकारले लकडाउन गरेर सबैलाई घरभित्र बस्न भनेपनि प्रहरीलाई रातदिन सडकमा निस्किनु पर्ने बाध्यता रहेकाछ ।