नेपालगन्ज: कोरोना भाइरसका कारण सोमबार विहानसम्म विश्वभर ३३ हजार बढिको मृत्यु भएकोछ । भने झण्डै साढे ७ लाख बढी संक्रमित भएकाछन् ।
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर सात लाख २१ हजार ५ सय ६२ पुगेको छ । यस्तै कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय ६५ रहेको छ । अहिलेसम्म एक लाख ५१ हजार १ सय २८ जनामा संक्रमित निको भएकाछन् । यो तथ्यांक यो समाचार तयार पार्दासम्मको हो । कोरोना भाइरसको संक्रमण विश्वब्यापीरुपमा बढ्दोक्रममा छ । सोही दरमा मृत्युदर पनि बढ्दोछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमणका कारण हुने मृत्युदर अहिले ३.४ प्रतिशत रहेको छ । मौसमी फ्लूका कारण हुने मृत्युदर भने एक प्रतिशत भन्दा कम रहने गरेको थियो ।
नोवेल कोरोना भाइरसका कारण हुने कोभिड–१९ पाको उमेरका व्यक्तिमा बढी घातक देखिएको छ । अहिलेसम्म पुष्टि भएका केस र त्यसको मृत्युलाई हेर्दा ८० वा त्यो भन्दा माथिको उमेरका व्यक्तिमा मृत्युदर १५ प्रतिशत भन्दा बढी रहेको छ ।
यस्तै ७० देखि ७९ वर्षका व्यक्तिमा यसको मृत्युदर ८ प्रतिशत रहेको छ । कम उमेरका व्यक्तिमा मृत्युदर अति कम देखिएको भए पनि जोखिम उच्च बन्दै गएको विज्ञले बताउन थालेका छन् ।
पछिल्ला केही दिनदेखि अमेरिकामा संक्रमतिको संख्या लगातार उच्चदरमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा १८ हजार ४ सय २६ जनामा नयाँ संक्रमण पुष्टि भएपछि अमेरिकामा कुल संक्रमितको संख्या एक लाख ४२ हजार चार पुगेको छ । यस्तै मृत्यु हुनेको संख्या २४ सय ८४ रहेको छ ।
पछिल्ला केही दिनयता अमेरिका तथा युरोप ‘हटस्पट’ बनेपछि संक्रमित तथा ज्यान गुमाउनेको संख्या अत्याधिक बढेको छ । यस्तै इटालीमा १० हजार ७ सय ७९ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ९७ हजार ६८९ रहेको छ ।
चीनमा कुल संक्रमितको संख्या ८१ हजार ४३९ तथा मृत्यु हुनेको संख्या ३३ सय छ । स्पेनमा ८० हजार ११० संक्रमित भएका छन् भने ६ हजार ८०३ जनाको मृत्यु भएको छ ।
फ्रान्समा संक्रमित ४० हजार १७४ र मृत्यु हुनेको संख्या २६ सय ६, इरानमा संक्रमित ३८ हजार ३०९ र मृत्यु हुनेको संख्या २६ सय ४० तथा बेलायतमा संक्रमित १९ हजार ५२२ र मृत्यु हुनेको संख्या १२ सय २८ रहेको छ ।
भारतमा संक्रमित १ हजार २४ जना छन् भने मृत्यु हुनेको संख्या २७ पुगेकोछ । भने ९५ जना निको भएकाछन् ।
यस्तै नेपालको तथ्यांक हेर्दा हालसम्म पाँच जनामा संक्रमण देखिएकोछ । जसमध्ये १ जना पूर्णरुपमा निको भइसकेकाछन् । बाँकी रहेका ४ जनाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको र उनीहरु उपचारार्थ रहेको बुझिएकोछ ।