नेपालगन्ज: विश्वभर कोरोना भाइरसका कारण मानवजिवन तहसनहस भइरहेको कठिन परिस्थितीमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपाली नागरिकहरु दयालु र उदार चरित्रका भएको बताएकी छन् ।
बेलायती राजदूत निकोलाले कोरोना भाइरसको जोखिमकाबीच नेपाल सरकारले गरेको देशब्यापी लकडाउन र लकडाउनमा फसेका बेलायती नागरिकहरुलाई स्थानीय बासिन्दाहरुले निःशुल्क खाना र बासको ब्यवस्था गरेकोमा खुशी ब्यक्त गरेकी छन् ।
केही बेलायती नागरिक लकडाउनका कारण काठमाडौंबाहिर रोकिएका थिए । उनीहरूलाई स्थानीय बासिन्दाले दिएको आतिथ्यप्रति राजदूत पोलिटले खुशी व्यक्त गर्दै आईतबार राति एक ट्विटमार्फत यस्तो बताएकी हुन् ।
उनले आफ्नो ट्विटमा लेख्छिन्–‘मेरा नेपाली साथीहरू, जसले गएका दिनहरूमा काठमाडौंबाहिर रहेका बेलायती नागरिकहरूलाई निःशुल्क खाना र बास दिनु भयो तपाईंको दयालु र उदार चरित्रले गर्दा नै नेपाललाई विश्वभरि सबैले धेरै माया गर्छन् र नेपाल घुम्न आउँछन् । मलाई नेपालमा तपाईंहरूको सेवा गर्न पाएर धेरै गर्व छ ।’
कोरोना भाइरसको जोखिम बढेसंगै सरकारले लकडाउन र भारत तथा चिनसंगको नाका चैत्र २५ गतेसम्मका लागि बन्द गरिएकोछ ।