कोभिड–१९ : यी हुन् थाहा पाउन बाँकी कुराहरु ?


कोभिड–१९ :  यी हुन्  थाहा पाउन बाँकी कुराहरु ?

नेपालगन्ज: यो वर्षौं पहिलेदेखि सुरु भएकोजस्तो लाग्छ, तर संसारले सन् २०१९ को अन्तिम महिना डिसेम्बरको अन्तिमदेखि थाहा पाएको हो, कोरोनाभाइरस । यसका विषयमा विश्वभरका वैज्ञानिकहरु खोजीमा लागिरहेका छन् । संसारका २०० भन्दा बढी मुलुक र भू–भागमा यसको संक्रमण फैलिइसकेको छ भने करिब सात लाख संक्रमित भएका छन् । जसमध्ये करिब ३० हजारको मृत्यु भइसकेको छ । अझै हामीले यसका बारेमा थाहा पाउन बाँकी धेरै कुराहरु छन् ।

बीबीसीमा प्रकाशित सामग्रीका अनुसार यससम्बन्धीका धेरै जिज्ञासाहरुको जवाफ हरेक मिनेट खोजी भइरहेको छ । यसबाट बच्नका लागि संसारका अधिकांश मुलुकहरु लकडाउनमा छन् भने केहीमा कर्फ्यु लगाइएको छ । मुलुकहरुले एक–अर्का देशबीचको नाका बन्द गरेका छन् । जमिन र हवाई यातायातमा प्रतिबन्ध लगाइएको छ ।

वास्तवमा कति व्यक्ति संक्रमित भएका छन् ?

अहिले सबैभन्दा धेरै सोधिने प्रश्नमध्य एक र महत्वपूर्ण प्रश्न हो कि विश्वभर वास्तविक संक्रमित कति छन् ? हालसम्म पुष्टि गरिएका संक्रमितको संख्याको कुरा गर्ने हो भने करिब ७ लाख मानिसहरु संक्रमित भएका छन् । त्यसैगरी मर्नेहरुको संख्या ३० हजारभन्दा बढी छ ।

तर, यो संख्या विश्वभर भएका संक्रमितको एक सानो अंशमात्र हो । हाल सार्वजनिक भएको तथ्यांकमा आशिंक सत्यता मात्र छ । सार्वजनिक भएको तथ्यांकभन्दा पर धेरै संक्रमितहरु पुष्टि हुन बाँकी छ । केही संक्रमितहरुको जाँच गरिएको छैन भने लक्षण पनि देखिएको छैन । मानिसहरुमा भाइरसको संक्रमण भइसकेको छ, तर लक्षण देखिन र बिरामी मात्र भएका छैनन् ।

एन्टिबडी टेस्टको विकास गर्न अनुमति भएपछि मात्रै अनुसन्धानकर्ताहरुले कोहीसँग भाइरस छ कि छैन भनेर थाहा पाउन सकिन्छ । त्यसपछि मात्रै हामीलाई थाहा हुनेछ कि भाइरस कति सजिलै र कति व्यक्तिमा फैलिन्छ भन्ने थाहा पाउछौं ।

भाइरस कति घातक हुन्छ ?

जबसम्म हामीले कोरोना संक्रमित कति छन् भनेर थाहा पाउन सक्दैनौं, तबसम्म यसबाट कति मानिसको मृत्यु हुन्छ भनेर थाहा पाउन असम्भव छ ।

हाल सार्वजनिक भएको तथ्यांकलाई मान्ने हो भने संक्रमितको करिब १ प्रतिशत मानिसको मृत्यु भइरहेको छ । तर, यहाँ लक्षण नदेखिएका संक्रमितको संख्या ठूलो छ । त्यसलाई मान्ने हो भने मृत्युदर कम हुनसक्छ ।

भाइरसका अन्य लक्षणहरु के–के हुन्छन् ?

कोरोना भाइरसका मुख्य लक्षणहरु ज्वरो आउने र सुक्खा खोकी लाग्नु हुन् । त्यसैगरी अन्यमा केही केसहरुमा घाँटी दुख्ने, टाउको दुख्ने, वान्ता हुने र पखाला लाग्ने हुन्छ ।

यस्तै केहीको गन्ध थाहा नपाउने हुनु पनि कोरोना भाइरसको लक्षण हो । तर, केही संक्रमितहरुमा हल्का लक्षणहरु, चिसो हुँदा देखिने नाकमा पानी बगिरहने, सिंगान आउनेलगायतका लक्षणहरु देखिने हुन्छन् ।

विभिन्न अध्ययनहरुले यस्तै किसिमका सामान्य लक्षण देखिए पनि उनीहरुलाई कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने सुझाएका छन् । भाइरसको संक्रमण भएको थाहै नभएर संक्रमित भएको हुनसक्ने पनि अध्ययनहरुले सुझाएका छन् ।

कोरोना फैलाउन बालबालिका सक्रिय !

अहिले सार्वजनिक विभिन्न तथ्यांक र अध्ययनहरुले कोरोना भाइरसको संक्रमणको बढी जोखिम उमेरकाहरुलाई भएको बताइएको छ । तर, यसको अर्थ बालबालिकालाई कोरोना संक्रमण हुँदैन भन्ने होइन । बालबालिकालाई पनि कोरोना संक्रमण भएका थुप्रै उदाहरणहरु छन् । तर, बढी उमेरकाभन्दा कम उमेरकालाई कोरोनाबाट हुने सम्भावित मृत्युको जोखिम भने कम हुन्छ ।

सामान्यतयास् कोरोना संक्रमणको तीव्र फैलावटमा बालबालिका महत्वपूर्ण बाहक बन्छन् । उनीहरुले छोटो समयमा भाइरसलाई बोकेर छोटो समयमा धेरैसँग घुलमिल हुन्छन् । तर, उनीहरुले कति मात्रामा भाइरस संक्रमण फैलाउँछन् भन्ने कुरा भने स्पष्ट भइसकेको छैन ।

यो भाइरस कहाँबाट आयो ?

यो भाइरस चीनको वुहानमा पहिलो पटक देखिएको हो । यो भाइरस ’एनिमल–मार्केट’ बाट हुने संक्रमणको एक अंश मानिएको छ । यो भाइरस वुहानमा चमेरोबाट आएको हुनसक्ने मानिएको छ । तर, अहिलेसम्म यसको पुष्टि हुन सकेको छैन । आधिकारिक रुपमा यसलाई सार्स(कोभ–२) भनिएको यो भाइरस चमेरोबाट सरेको हुनसक्ने मानिएको छ । यद्यपि यो भाइरस चमेरोबाट कुनै रहस्यमय जीवमा सरेको र पछिमात्रै मानिसमा सरेको हुनसक्ने बताइएको छ ।

यो बीचको लिंक अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । यो रहस्यमय जीवको बारेमा अहिलेसम्म कुनै प्रमाण भेटिएको छैन । यसको संक्रमण आगामी दिनमा बढ्नसक्ने बताइएको छ ।

के गर्मी सुरु भएसँगै कोरोना संक्रमण कम हुन्छ ?

गर्मीको तुलनामा जाडो मौसममा मानिसलाई चिसो लाग्नु र फ्लु हुनु सामान्य मानिन्छन् । तर, यस कोरोना भाइरसको संक्रमण गर्मी लागेसँगै कम हुन्छ भन्ने कुनै प्रमाण भेटिएको छैन ।

बेलायत सरकारका वैज्ञानिक सल्लाहकारले मौसमअनुसार कोरोना भाइरसको प्रभाव घटबढ हुने स्पष्ट भइनसकेको बताएका छन् । यदि यो अन्य भाइरल फ्लुजस्तै भएमा गर्मी मौसममा अन्य चिसो र फ्लुजस्तै संक्रमण कम हुनसक्ने उनीहरुको अपेक्षा छ ।

यदि गर्मी सुरु भएसँगै कोरोना भाइरसको संक्रमण कम भएमा चिसो मौसममा फेरि यसको संक्रमण एकाएक बढ्ने त्रास पनि बढ्ने छ । यदि चिसोमा संक्रमण बढेमा अस्पतालहरुले पनि यसको सामना गर्न मुस्किल हुनेछ । किनकि जाडो मौसममा चिसो र अन्य सामान्य फ्लुका बिरामीहरु पनि धेरै हुन्छन् ।

किन केही व्यक्तिमा तीव्र हुन्छन् ?

अधिकांशका लागि कोरोना भाइरसका लक्षणहरु हल्का हुन्छन् । यद्पि करिब २० प्रतिशत संक्रमित मानिसहरुमा भने कोरोनाका कडा लक्षणहरु देखिन थाल्छन् ।

यसो हुनुमा संक्रमित व्यक्तिको रोग प्रतिरोधी क्षमता (इम्युन सिस्टम)मा पनि आधारित हन्छ । यससँगै केही वंशाणुगत गुणहरुले पनि फरक पार्छ । यस कारण केही संक्रमित व्यक्तिहरुलाई चाँडै संक्रमण देखिने र अति सूक्ष्म हेरचाह आवश्यक पर्ने र आईसीयूमा राख्नुपर्ने हुन्छ ।

रोग प्रतिरक्षा प्रणालीले कतिसम्म भाइरसको सामना गर्छ ?

कोरोना भाइरसको संक्रमणले मानव शरीरलाई निकै कमजोर पार्दछ । किनकि यसले सुरुमा मानिसको रोग प्रतिरक्षा प्रणालीमा आक्रमण गर्छ । यससम्बन्धमा विभिन्न अनुमानहरु गरिएको भनि केही निश्चित प्रमाणहरुमा फेला परेका छन् ।

यदि कोही व्यक्ति संक्रमित भएको लामोसमयसम्म पनि कोरोना भाइरसको लक्षण देखिएन भने थाहा पाउन सकिन्छ कि उक्त व्यक्तिको रोग प्रतिरक्षा प्रणाली बलियो भइरहेको छ । यदि यो भाइरस केही महिनासम्म नै रह्यो भने मानिसको प्रतिरक्षा प्रणाली पूर्ण नष्ट पारेको हुन्छ र संक्रमित अति कमजोर हुन्छ ।

पहिलो पटक संक्रमण भएको व्यक्ति दोस्रो पटक संक्रमण भेटिएमा व्यक्तिको प्रतिरक्षा प्रणालीले काम गर्छ कि गर्दैन भन्ने अहिलेसम्म प्रमाण भेटिएका छैन । चीनमा भने करिब १० प्रतिशत कोरोना संक्रमितमा दोस्रो पटक संक्रमण भएको पुष्टि गरिएको थियो ।

के यो भाइरस परिवर्तन हुन्छ ?

यो भाइरस परिवर्तन हरेक समय भइरहेको हुन्छ । तर, अधिकांश परिवर्तनहरुमा यसको जेनेटिक कोडमा खासै परिवर्तन आउँदैन । भाइरस एक व्यक्तिमा सरेपछि हुने परिवर्तनका कारण तेस्रो व्यक्तिमा संक्रमण हुँदा कम घातक हुने अनुमान गरिए पनि कम घातक हुन्छ भन्ने अहिलेसम्म कुनै प्रमाण भेटिएको छैन ।

यदि भाइरस परिवर्तन भएमा हाम्रो प्रतिरक्षा प्रणालीले यसलाई पहिचान गर्न सक्दैन र यसका लागि बनेको खोपले काम नगर्ने सम्भावना बढी हुनेतर्फ सचेत गराइएको छ । –बीबीसीबाट