नरैनापुर(बाँके): बाँकेको नरैनापुर गाउँपालिकामा भारतबाट फर्केकालाई क्वारेन्टाइनमा राख्न थालिएको छ ।
कोरोना भाइरसको संक्रमण बढेसंगै पछिल्लो समय भारतबाट नेपाल आएकाहरुलाई पहिचान गर्दै क्वारेन्टाइनमा राख्न गाउँपालिकाले सक्रियता देखाएको हो ।
भारतका विभिन्न सहरहरुमा मजदुरी गर्न गएका स्थानीयहरुलाई गाउँपालिकाले क्वारेन्टाइनमा व्यवस्थापन गरिरहेको छ । बाहिरबाट आएकालाई १४ दिन अनिबार्य क्वारेन्टाइनमा राख्न थालिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।
कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले गरेको लकडाउनमा पनि भारतमा अलपत्र परेका नेपाली चोर बाटो भएर आउने क्रम नरोकिएकाले नाका क्षेत्रमा निगरानी बढाएर उनीहरुको स्वास्थ्य चेकजाँच गरी अनिवार्य क्वारेन्टाइनमा बसाउन थालिएको शाहले जानकारी दिए ।
नरैनापुर गाँउपालिकाको वडा नम्बर ५ र ६ का ७० जनालाई वडा नम्बर ६ स्थित जयकिसान माविमा निर्माण गरिएको अस्थायी क्वारेन्टाईनमा राखिएको छ । त्यसअघि हिजो मात्र ३० जनालाई नेपालगन्ज पु¥याई उनीहरुको स्वास्थ्य चेकजाँच गरिएको नरैनापुर गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाहले बताए । यद्यपी उनीहरु सबैको अवस्था सामान्य रहेको पाइएको छ ।
नेपालगन्जस्थित एक होटलको क्वारेन्टाइनमा अहिले नरैनापुरका ३० जना छन् । गाउँपालिकाले कोरोना आशंकित व्यक्तिहरुलाई राख्न वडा नम्बर ४ को खोदवाँस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा १० शैयाको क्वारेन्टाइन केन्द्र बनाएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए ।
उनले बाहिरबाट आएकालाई स्वास्थ्य जाँच गरी आवश्यकता अनुसार गाउँपालिकाले बनाएको क्वारेन्टाइन वा घरमै पनि एक्लै बस्ने गरी व्यवस्थापन गरिएको बताउँदै बाहिरबाट आएकालाई क्वारेन्टाइनमा बसिदिन आग्रह गरे ।