बाँकेको साईगाँउस्थित दशगजामा अलपत्र परेका नेपाली । तस्विर: विजय मल्ल /सेतोखरी
दशगजा (साईगाँउ): पारी भारतले लकडाउन गरेको छ । वारी बाँके प्रशासनले जनता कफ्र्यु गरेकोछ । संघीय सरकारले नेपालगन्ज सहित देशभर लकडाउन पनि जारी राखेकोछ ।
नेपाल–भारत सीमानाका जमुनाहमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरीका साथै नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्यकर्मी सुरक्षार्थ स्वास्थ्य परीक्षणका लागि खटिएका छन् ।
बाँके प्रशासनले जमुनाह नाका शीलबन्द गरेको छ । केहीदिन यता उक्त नाकाबाट कुनै पनि ब्यक्तिलाई प्रबेश रोक लगाइएकोछ । तर, बाँकेको जमुनादेखि पश्चिम जानकी गाँउपालिकाको सीमाक्षेत्र साईगाँउमा सोमबार दिउँसो भारतबाट आएका नेपालीहरुको ठूलो जमघट भेटिएकोछ ।
साईगाँउ नेपाल–भारत सीमाक्षेत्रसंगै जोडिएको खुल्ला गाँउ हो । सोमबार विहानदेखि दिनभर उक्त गाँउमा भारतबाट आएका नेपालीहरु अलपत्र अवस्थामा बसीरहेका थिए । उनीहरुलाई गाँउपालिकाको क्वारेन्टाईनमा राख्ने वा उनीहरुको स्वास्थ्य परीक्षण गर्नेतर्फ जानकी गाँउपालिका, बाँके प्रशासन कसैले पनि सोमबार साँझसम्म ध्यान नदिएपछि सोमबार बेलुका ५ बजे भारतीय प्रहरीले उनीहरुलाई साईगाँउबाट फिर्ता लिएकाछन् ।
बैदेशिक रोजगारमा भारतका विभिन्न शहरमा गएका नेपालीहरुलाई भारतीय सरकारले लकडाउन घोषणा गरेपछि नेपाल फिर्ता पठाउनेक्रम रोकिएको छैन । आफू काम गरिरहेको होटल, उद्योग र कम्पनी बन्द भएको र मालिकले कोरोना भाइरस रोकथाम नहुदाँसम्म नेपाल फर्कन दबाब दिएपछि आफूहरु रातारात पैदल हिँडेर नेपाल आउनुको विकल्प नभएको साईगाँउमा अलपत्र अवस्थामा रहेका नेपालीहरु बताउँछन् ।
जमुनाह नाकाबाट नेपाल भित्रिन बाँके प्रशसानले नदिने खबर सुनेपछि हामीहरु नेपाल–भारत प्रबेशको छोटी नाका हुदै साईगाँउ आईपुगेको उनीहरु बताँउछन् ।
सोमबार विहान साईगाँउ प्रबेस गरेका नेपालीहरुले साँझसम्म पानी समेत पीउन नपाएको, दिनभर भोकै खुल्ला आकाशमुनी घाम तापेर बस्नुपरेको बताएकाछन् ।
उनीहरुले आफूहरुको स्वास्थ्य परीक्षण गरि क्वारेन्टाईनमा राख्नुपर्ने अवस्था भए राख्ने र नभए घर जाने वातावरण मिलाईदिन जानकी गाँउपालिका बाँके प्रशासन, बाँके प्रहरी लगायतसंग आग्रह गरेकाछन् ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बाँके प्रशासनले पछिल्ला दिनमा नेपालगन्ज र आसपासका क्षेत्रमा कडाई गर्नुका साथै कुनै पनि ब्यक्तिलाई नेपाल–भारत सीमानाका भएर नेपालगन्ज प्रवेशमा रोक लगाएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का बताउँछन् ।
साईगाँउमा भेटिएका नेपालीहरुलाई पनि गाँउपालिकाको क्वारेन्टाईनमा थुपारेर राख्नसक्ने अवस्था नभएकोले उनीहरुलाई के गर्ने भन्ने बारे जिल्ला स्थित सुरक्षा संयन्त्र र सरोकारवालासंग छलफल पछि मात्रै थाहा हुने बताएका थिए ।
बाँके प्रशासन र जानकी गाँउपालिकाले उनीहरुका विषयमा कुनै चासो नदेखाएपछि भारतीय प्रहरीले रुपैडिहामा रहेको भारतीय क्वारेन्टाईनमा राख्ने भन्दै उनीहरुलाई रुपैडिहातर्फ लगेका हुन् ।
रुपैडिहामा रहेको भारतीय क्वारेन्टाईनमा २ दर्जन बढि नेपालीहरु रहेको भारतीय प्रहरीले जनाएकोछ । साईगाँउमा रहेका ती नेपालीहरुलाई पनि उक्त क्वारेन्टाईनमै लगेर राख्ने र उनीहरुको स्वास्थ्य परीक्षण गरिने भएकोछ ।
साईगाँउमा भारतबाट आएका १५ जना नेपाली अलपत्र अवस्थामा रहँदा सम्म नेपालका तर्फबाट कुनै ब्यवस्थापनका लागि आवश्यक पहल हुन सकेन । दुवैदेशका सरकारले लकडाउन गरिरहेको अवस्थामा यसरी नेपालीहरु सीमा नाकाभएर नेपाल प्रवेश गर्नुले नेपालगन्ज र आसपासको क्षेत्र अझैपनि कोरोना भाइरसको उच्च जोखिममा रहेको देखिन्छ ।
यसको रोकथाम र नियन्त्रणका लागि बाँके प्रशासनले सीमानाकामा कडाई मात्र होईन बर्डरसंग जोडिएका छोटी नाकाहरुमा सुरक्षाको ब्यवस्था गर्नुपर्ने नितान्त आवश्यक देखिएकोछ । यसतर्फ बाँकेका प्रमुख जिल्ला अधिकारी खड्का, प्रहरी प्रमुख वीरबहादुर ओली र समग्र जिल्ला स्थित उच्च सुरक्षा निकायले गम्भीरतापूर्वक तत्कालै ध्यान दिइ ती छोटी नाकाहरु समेत शील गर्नसक्नुपर्ने जानकार बताउँछन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खड्का छोटी नाका सुरक्षाका लागि जिल्ला स्थित सुरक्षा संयन्त्रसंग छलफल गर्ने र यसका लागि आवश्यक पहल अघि बढाउने बताउँछन् ।