भारतमा १४ दिनदेखि रुखमै क्वारेन्टाइन


भारतमा १४ दिनदेखि रुखमै क्वारेन्टाइन

नेपालगन्ज: यतिबेला कोरोना भाइरसका कारण भारतमा २१ दिन लामो लकडाउन घोषणा गरिएको छ । दिनहुँ कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि २१ दिने लामो लकडाउनबाट दैनिक मजदुरी गरेर खाने समूह निकै पीडित बनेका छन् ।

अझ कोरोना भाइरसको नियन्त्रणका लागि ‘सामाजिक दूरी’ कायम गर्नु मुख्य सावधानी मानिएको छ । तर, भारतमा सामाजिक दुरी कायम गर्नका लागि सुन्दा अचम्म लाग्ने तर कारुणिक उपाय अपनाइएको छ ।

भारतमा सातजना प्रवासी मजदुरहरुले दुई सातादेखि आफूलाई अलग–अलग रुपमा क्वारेन्टाइन गर्दै आएका छन् । उनीहरुले घर नभएपछि क्वारेन्टाईनका लागि रुख प्रयोग गरेका छन् । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार उनीहरुसँग अलग–अलग बस्न कोठा नभएपछि रुखमा अलग–अलग बस्दै आएका हुन् ।

एएनआईले लेखेको छ, ‘पश्चिम बंगालको बलरामपुरस्थित भानगिडी गाउँमा मजदुरहरुले रुखमा १४ दिनका लागि आफूलाई क्वारेन्टाइन गरेका छन् । उनीहरुका अनुसार घरमा उनीहरुलाई आइसोलेसनका लागि अलग–अलग कोठा छैनन् ।’

हजारौं मानिसहरु लकडाउनको प्रवाह नगरी हजारौं किलोमिटरको दूरीमा हिँडेर घर फर्किरहेका बेला हाल यी तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।