कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न राणाको माग


कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न राणाको माग

नेपालगन्ज: नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डाक्टर धवलशम्शेर राणाले नेपालगन्जमा कोरोना परीक्षण प्रयोगशाला तत्काल स्थापना गर्न माग गरेकाछन् ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रस्तावित लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसंग सोमबार नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर राणाले भिडियो कन्फ्रेन्स गर्दै यस्तो माग गरेका हुन् ।

नगरप्रमुख राणाले यसअघि नेपालगन्जमा कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न सरकारले गरेको निर्णय तत्काल कार्यान्वयन गर्न माग गरे ।

सोक्रममा मुख्यमन्त्री पोखरेलले नेपालगन्जमा छिट्टै आवश्यक जनशक्ति र पूर्वाधार तयार गरि प्रयोगशाला सञ्चालनमा आउने जानकारी दिए । मुख्यमन्त्रीले पिपिई, लगायतका अन्य मेडिकल सामाग्री पनि छिट्टै नेपालगन्ज पठाइने बताए ।

कोरोना संक्रमण भित्रिन नदिनका लागि नेपालगन्ज उपमहानगरपालिकाले गरेका कामको बारेमा जानकारी लिदैं मुख्यमन्त्री पोखरेलले कोरोनाको संक्रमण भित्रिन नदिन सबैपक्ष मिलेर लाग्नुपर्नेमा जोड दिए ।

सोक्रममा नगरप्रमुख राणाले नेपालगन्जले कोरोना विरुद्ध गरिरहेको प्रयास र पहलकदमी बारे जानकारी दिदै आवश्यक मेडिकल सामाग्रीको अभाव भएको बारे मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराएको बताए ।