दाङ्ग: कोरोना भाइरसको त्रासबीच डेरामा बस्दै आएकी नर्सलाई घरबाट निकाल्ने घरबेटी पक्राउ परेकाछन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ गणेशपुर घर भइ हाल घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा कार्यरत २० वर्षीया नर्स सृजना खड्कालाई घरबाट निकाल्ने घरबेटी नारायण आचार्यलाई पक्राउ गरिएको हो ।
घरबेटी दाङ्ग घोराहीनगरपालिका वडा नम्बर २ का वडा सचिव समेत हुन् । कोरोना भाइरस सर्ने त्रासका कारण वडा सचिवले नर्सलाई घरबाट निकालेपछि जिल्ला प्रशासन कार्यालय दाङले घरबेटीलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले डेराबाट नर्स निकाल्ने घरबेटी आचार्यलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।
निर्देशनपछि प्रहरीले आचार्यलाई समातेको र कानून बमोजिम कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल बताँउछन् । घरबेटीले निकालेपछि हाल उनी घोराहीस्थित एक होटेलमा बस्दै आएकी छन् ।