कोरोनासगैं हराउन सक्छ यी चलन !


कोरोनासगैं हराउन सक्छ यी चलन !

नेपालगन्ज: यतिबेला विश्वभरी महामारी बनेको कोरोना भाइरस सकिएपछि विश्वबाटै केही चलन हराउने वैज्ञानिकहरुले बताएका छन् । हात मिलाउने र अंकमाल गर्ने जस्ता चलन विश्वभरछ । तर, कोरोना भाइरसको प्रकोपबाट बच्न सामाजिक दुरीका साथसाथै हातमिलाउने, अंकमाल गर्ने जस्ता चलन त्याग्नुपर्ने चिकित्सले बताएपछि यस्ता चलन हराउन सक्ने वैज्ञानिकहरु बताउँछन् ।

कोरोनाबाट जोगिन अहिले विश्वभर नै शारीरिक सम्पर्कबाट टाढा आइसोलेसनमा बस्न भनिएको छ जसले मान्छेको ‘कमन’ व्यवहारमा ठूलो परिवर्तन ल्याउने उनीहरुले बताएका हुन् ।

विश्वबाटै कोरोना भाइरस सकिए पनि आगामी धेरै वर्षसम्म हात मिलाउने र अंकमाल गर्ने जस्ता चलन हराउनेछ । कोरोनालाई लिएर अत्यधिक सर्तकता अपनाइएको हुँदा, कोभिड–१९ को सामना गरिरहेका पिँढी धेरै लामो समयसम्म हात मिलाउन हिचकिचाउने र शारीरिक स्पर्ष गर्नुपर्ने किसिमका अभिवादनसँग डराउने बताइएको छ ।

यस्तोमा हात मिलाउने चलनलाई सामान्य मुन्टो हल्लाउने जस्तो अभिवादनले प्रतिस्थापन गर्न सक्ने बताइएको हो । व्यावसायिक बैठक र सम्मेलनहरुमा समेत यही चलन अपनाउन सुरु गरिने बताइएको छ ।

त्यस्तै सबै सतहलाई संक्रमणविहीन राख्न नियमित केमिकलले सफा गरिरहने व्यवहार हट्न पनि समय लाग्नेछ भने स्यानिटाइजरको प्रयोग पनि उल्लेखनीय रुपमा बढ्ने बैज्ञानिकहरुले बताएका हुन् ।

जस्तै अहिले युरोपमा सामाजिक दुरीकरणको उपाय ६ महिनासम्म अपनाइरहनुपर्ने भएमा, मान्छेले दैनिकीमा नयाँ बानी विकसित गर्नेछन् जसलाई रोग सकिए पनि पछि छाड्न धेरै कठिन हुनेछ ।