नरैनापुर गाउँपालिकाद्वारा ‘कोरोना भाइरस संक्रमण उपचार कोष’ खडा


नरैनापुर गाउँपालिकाद्वारा ‘कोरोना भाइरस संक्रमण उपचार कोष’ खडा

File Photo

नरैनापुर(बाँके):कोरोना भाइरस विरुद्धको अभियानलाई प्रभावकारी बनाउन बाँकेको नरैनापुर गाउँपालिकाले ‘कोरोना भाइरस संक्रमण उपचार कोष’ खडा गरेको छ ।

गाउँपालिकाले १५ लाखको कोष खडा गरेर आजदेखि खाता सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए । कोषमा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ब्यक्तिगत २५ हजार रुपैयाँ जम्मा गरेका छन् ।

अध्यक्ष शाहले कोषमा सक्दो रकम जम्मा गरेर कोरोना विरुद्ध गाउँपालिकाले थालेको अभियानमा सहयोग गर्न सबैमा अपील समेत गरेकाछन् । कोरोनाको संक्रमण रोक्न तथा विपन्न बर्गको राहतको लागि कोष खडा गरिएको अध्यक्ष शाहले बताए ।

गाउँपालिकाको नरैनापुरस्थित सनराइज बैंकको खाता नम्बर ०७४०४८८०८७७०१००५ मा रकम जम्मा गरी सहयोग गरिदिन आग्रह गरिएको छ । ‘कोरोना विरुद्धको अभियानमा रकमको अभाव हुन नदिन आजदेखि खाता संचालन गरेका छौं, अध्यक्ष ज्यू,ले २५ हजार जम्मा गरेर खाताको सुरुवात गर्नुभएको छ,’ लेखापाल प्रकाश अधिकारीले जानकारी दिए ।

गाउँपालिकाले खोदवाँ, भोजपुर र नेपालगन्जमा क्वारेन्टाइन सञ्चालन गरेको छ । जहाँ अहिले १ सय २९ जना रहेको स्वास्थ्य शाखा प्रमुख मोइन खाँले जानकारी दिए ।

रोजगारीका लागि भारत गएका स्थानीयहरु चोर बाटो हुँदै नेपाल आउने क्रम नरोकिएपछि व्यवस्थापनमा चुनौती थपिएपनि सक्दो प्रयास गरेरर क्वारेन्टाइनलाई प्रभावकारी बनाउन लागिपरेको अध्यक्ष शाहले बताए ।