नाकामा रहेका नेपाली रूपैडिहा जानुको विकल्प छैन: सिडिओ खड्का
नेपालगन्ज: तीनदिनदेखि सीमानाकामा बेवारिसे अवस्थामा रहेका नेपालीको जनजीवन कष्टकर बन्दै गएको छ । भारतमा कोरोना संक्रमण बढेसगै सुरक्षाका लागि आफै जन्मभूमि नेपाल आएका उनीहरू तीनदिनदेखि खुल्ला आकाशमुनी कष्टकर जीवन बिताइरहेका छन् ।
यसरी विभिन्न नाका हुँदै नेपालगन्जमा आएका नेपाली नागरिक तीन दिनदेखि खुल्ला आकाशमुनी बसिरहेका छन् । चिसो खेत र सडकको सुताई, रातभर लामखुट्टेको टोकाई र भोको पेटले उनीहरु झन् बिरामी पर्ने खतरा बढेको छ ।
उनीहरु नेपाल–भारत सीमानाका दशगजा छेउमै रहेका रुखमुनी रात कटाउन बाध्य भइरहेका छन् । आफुहरु क्वारेन्टाइनमा बस्न तयार रहँदा समेत बाँके प्रशासन र यहाँका जनप्रतिनिधीले बेवास्ता गरेको उनीहरुको दुखेसो छ ।
कतिपय व्यक्ति बिरामी समेत परेका छन् । तर, उनीहरू उद्दार गरी उचित व्यवस्थापनका लागि बाँके स्थित संघीय तथा प्रदेश साँसद, स्थानीय जनप्रतिनिधी, बाँके प्रशासन लगायतका सरोकारवाला निकायको ध्यान जान सकेको छैन् । अघिपछि समाजसेवाको नारा लगाउने यहाँका जनप्रतिनिधी र बेमौसमी ढोल पिट्ने अभियन्ता समेत सीमानाकामा कष्टकर जीवन विताइरहेका नेपालीको उद्दारमा सक्रिय देखिएका छैनन् ।
सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई नेपाल प्रवेश गराएर व्यवस्थित रुपले क्वारेन्टाइनमा राख्नुपर्ने पक्षमा उपमहानगरपालिका छ । तर, स्थानीय प्रशासनले प्रवेश गराउन माथिबाट आदेश नभएको भन्दै उपमहानगरपालिकाको कुरा सुन्न चाहेको छैन । यसले उनीहरूको अवस्था झनै कष्टकर बन्दै गएको छ ।
सरकारले सीमा क्षेत्रमा रहेका नेपालीलाई नेपालमै ल्याएर ब्यवस्थित रुपले क्वारेन्टाइनमा राख्नु नै उपयुक्त हुने इन्सेकका प्रस्तावित लुम्बिनी प्रदेश संयोजक भोला महत बताउँछन् ।
महेन्द्र बहुमुखी क्याम्पसमा स्थापना गरेको क्वारेन्टाइनमा अझै ५० जना अट्न सक्ने उपमहानगरपालिका बताउँछ । बाँकेका स्थानीय तहमा बनाईएका क्वारेन्टाइन बिहीबारसम्म खाली नै छन् । त्यहि लगेर उनीहरूलाई सुरक्षित गर्नपर्ने बार एशोसियसशन उच्च अदालत नेपालगन्जका अध्यक्ष विकास आचार्य बताउँछन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपाल–भारत सीमा नाकाबाट कसैलाई पनि आवत–जावत गर्न नदिन माथिबाटै कडाई गरिएको बताएका छन् । उनकाअनुसार अहिलेसम्म कसैलाई पनि आवत जावत गर्न नदिने भनेर माथिको निर्देशन छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काको माथिको आदेश ताक्ने र जिम्मेवारीबाट पन्छिने बानीका कारण आमनेपाली नागरिकले शुरुवातदेखि नै दुःख पाउँदै आएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काकाअनुसार विहीबार विहान दश बजेसम्म पनि नेपालीहरू सीमानाकामै बेवारिसे छन् । भारतले रूपैडिहाको क्वारेन्टाइनमा राख्न लैजान खोजेपनि उनीहरू जान नमानेको प्रजिअ खड्कलो सेतोखरीलाई बताए । उनले भने ‘रूपैडिहा जान भन्दा मानेका छैनन् यहाँ हामीले व्यवस्थापन गर्न सक्ने अवस्था छैन् । उनीहरू नाकामै बसिरहेका छन् ।’
सीमानाकामा अलपत्र परेका नेपालीका बारेमा उपमहानगरपालिकाले के व्यवस्थापन गरेको छ ? भन्ने प्रश्नमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाले क्वारेन्टाइनमा ल्याएर राख्ने उपमहानगरको योजना हो । तर, सिडिओले किलिअर डिसिजन गर्न नसक्दा समस्या भइरहेको बताउँछन् ।
करिब दुई सयको हाराहारीमा रहेका नेपालीको सीमानाकामा तीनदिनदेखि अस्तव्यस्त दैनिकी चलिरहेको छ । उनीहरूले खाना र औषधी त परै जाओस् मागअनुसार पानी समेत पिउन नपाएको गुनासो गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका र प्रदेश सासद कृष्ण केसी नमूनाले यस्तै पीडितका लागि भनेर राहत कोष खडा गरेका छन् । उक्त कोषमा लाखौं रूपैयाँ जम्मा भइसकेको छ ।
तर, उक्त कोषबाट यस्ता पीडित नेपालीले पानी समेत खान पाएका छैनन् । विपतको बेला आपतमा परेकालाई सहयोग गर्नका लागि बनाईएको कोष र संकलन गरिएको रकम यस्तो बेलामा खर्च नभए कहिले हुने ? आमनागरिकको प्रश्न बनेको छ यतिबेला ।
कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न ठाउँबाट अनेक हण्डर खाएर पनि नेपाली नागरिक रातारात जमुनाह नाकामा आइपुगेको भारतको अहमदावादबाट आएका दैलेखका ज्ञानु रेग्मी बताउँछन् ।
उनकाअनुसार नेपाल–भारत सीमानाका दशगजासम्म आइपुगेपछि घर जानका लागि बाँके प्रशासनले अनुमति नदिएपछि तीनदिनदेखी सयौं नागरिक जमुनाह सीमामा अलपत्र अवस्थामा रहेका छन् ।
भारतको रुपैडिहामा सयौंको संख्यामा रहेका नेपाली नागरिकले नेपालगन्ज नाकाबाट सहजै प्रवेश गर्न नपाएपछि अन्य अबैध नाकाबाट भएपनि नेपाल छिरेका छन् ।
बाँकेको नरैनापुर, साईगाउँ, राप्तीपारी, खयरभट्टी लगायतका छोटी नाकाबाट समेत नेपालीहरू नेपालगन्जमा प्रवेश गरिरहेका छन् । नेपालगन्जसँगै जोडिएको जयसपुरको अबैध नाकाबाट दुई दिनअघि सीमा प्रवेश गरेका १ सय ६४ जनालाई भने सीमाक्षेत्रमै रोकिएको थियो ।