दशगजामा अलपत्र परेका नेपालीलाई राख्न नेपाल–भारत सीमानाका जमुनाह स्थित सुख्खा बन्दरगाहमा निमार्ण गरिएको अस्थायी क्वारेन्टाईन । तस्विर: विजय मल्ल/ सेतोखरी
नेपालगन्ज: जमुनाह स्थित दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई नेपाल–भारत सीमाक्षेत्रमा निर्माणधिन सुख्खा बन्दरगाहमा राखिएकोछ ।
बाँके स्थित सुरक्षा संयन्त्रको पहलमा सुख्खा बन्दरगाहमा बनाइएको अस्थायी क्वारेन्टाईनमा उनीहरुलाई राखिएको हो ।
विगत पाँच दिनदेखि सीमा क्षेत्रमा वेवारिसे अवस्थामा रहेका करिब २ सय नेपाली नगारिकले रातदिन सडक र खुल्ला चौउरमा कष्टकर जीवन विताइरहेका थिए । तर, उनीहरुको उचित ब्यवस्थापनका लागि यसअघि प्रदेश सरकार, बाँके प्रशासन, स्थानीय नेपालगन्ज उपमहानगरपालिका बाँके स्थित संघीय तथा प्रदेश तहका जनप्रतिनिधीहरु कसैले पनि ध्यान जान सकेको थिएन ।
उनीहरुको अवस्था कष्टकर हुनुका साथै दशगजामा रहेका मध्ये कतिपय नेपाली विरामी पर्न थालेपछि पाँचौं दिन अर्थात बिहीबार नेपाल–भारतका सुरक्षा अधिकारीको संयुक्त छलफलपछि उनीहरुलाई नेपाल–भारत सीमा क्षेत्रमा रहेको सुख्खा बन्दरगाहमा राखिएको हो ।
यसअघि सरकारको ब्यापक दवाव आएपछि भारतीय प्रशासन तथा प्रहरीले दशगजामा रहेका नेपालीलाई बहराईच जिल्लाको रुपैडिहादेखि ४२ किमी पर बनाइएको क्वारेन्टाईनमा लैजाने भरपूर प्रयास गरेको थियो । तर, बुधबार मात्र भारतीय प्रहरीले ती नेपालीलाई अमानवीय ब्यवहार गर्दै मध्यरातमा ट्रक र ट्रयाक्टरमा लोड गरि नेपाली सीमामा कटाएको र आफूहरुमाथि दुव्र्यवहारका साथै कुटपिट समेत गरेको भन्दै ती नेपालीहरुले उक्त क्वारेन्टाईनमा जान अस्विकार गरेका थिए ।
पटक–पटकको प्रयासपछि दुवै देशका सुरक्षा अधिकारी भारतीय क्वारेन्टाईनमा पठाउन असमर्थ हुदाँ नाकामा अलपत्र नेपालीलाई सुख्खा बन्दरगाहमा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का बताँउछन् ।
उनका अनुसार अस्थायीरुपमा निर्माण गरिएको क्वारेन्टाईनमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीले सुरक्षा दिइरहेका छन् । उक्त क्वारेन्टाईनमा खाने बस्ने लगायत क्वारेन्टाईनमा हुनुपर्ने केही सुविधा उपलब्ध गराइएको उनी बताउँछन् ।
जमुनाहमा पाँच दिनदेखि घर जान पाउनुपर्ने माग राख्दै बसिरहेका ती नेपालीलाई भारतीय क्वारेन्टाईनमा पठाउन खोज्दा उनीहरुले बरु आफूहरु दशगजामै गोली खान तयार रहेको तर, भारतीय क्वारेन्टाईनमा नजाने अडान लिएका थिए ।
उनीहरुको यस्तो अडानपछि तनावमा आएको बाँके प्रशासन र प्रहरी बुधबारदेखि बिहीबार बेलुकासम्म उनीहरुलाई सम्झाउन प्रयासरत थियो । तर, नेपालीभूमीमै बनाइएका क्वारेन्टाईनमा बस्ने, सरकारले दिएको निर्देशन पालना गर्ने भन्दै भारतस्थित क्वारेन्टाईनमा नजाने उनीहरुको अडानपछि नेपाल–भारत जमुनाहस्थित सुख्खा बन्दरगाहमा उनीहरुलाई राख्नुको विकल्प नभएको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले बताए ।
दशगजामा नेपाली सेनाले ४५ वटा अस्थायी क्वारेन्टाइन निर्माण गरेको छ । एउटा त्रिपालमूनी चार जनाका दरले राखिएको उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्सेर राणाले जानकारी दिए । उनका अनुसार उनीहरुको खाना नास्ता, स्वास्थ्य चेकजाँच, सरसफाईको व्यवस्थापन उपमहानगरपालिकाले गर्नेछ । सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी झण्डै ६० जना सुरक्षाकर्मीलाई खटाइएको छ ।
दशगजास्थित क्वारेन्टाइनमा राखिएकाहरुको स्वास्थ्य चेकजाँचका लागि उपमहानगरपालिकाका स्वास्थ्य संयोजक एवं जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटाइएको छ ।