नेपालमै निर्मित पीपीई कति भरपर्दो ?

एउटा पीपीई एकपटक मात्र प्रयोग गर्न मिल्छ


नेपालमै निर्मित पीपीई कति भरपर्दो ?

नेपालगन्ज:पर्सनल प्रोटेक्सन इक्युपमेन्ट अर्थात व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) ले ‘कोभिड १९’ वा अन्य कुनै रोगका किटाणुलाई व्यक्तिको शरीरभित्र छिर्नबाट जोगाउने गर्छ ।

कोरोना संक्रमित तथा लक्षण देखिएका बिरामीलाई उपचार तथा जाँच पड्तालका क्रममा संदिग्ध भाइरस स्वास्थ्यकर्मीको शरीरमा प्रवेश गर्ने सम्भावना रहन्छ । त्यसैले नाक, मुख, आँखालगायतका अङ्गबाट शरीरमा किटाणुको संक्रमण प्रवेश गर्नबाट रोक्नका लागि स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षात्मक उपकरण अनिवार्य हुन्छ ।

पीपीई एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्न नमिल्ने हुदाँ विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणका कारण विश्वबजारमा यतिबेला व्यक्तिगत सुरक्षात्मक उपरकणको अभाव छ । त्यही अभावका बीचमा नेपालका विभिन्न कम्पनी, अस्पतालले धमाधम पीपीई उत्पादन गरिरहेका छन् ।

यसरी स्वदेशमा पीपीई निर्माण गर्नु राम्रो पक्ष भए पनि गुणस्तरमा ढुक्क हुने अवस्था छैन । नेपालमा बनेका पीपीईमा शत प्रतिशत गुणस्तर भएको पुष्टि नभएसम्म कोरोनाभाइरस संक्रमणको लक्षण र संक्रमितको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीले त्यो प्रयोग गर्न नहुने यसक्षेत्रमा कार्यरत विशेषज्ञ बताउँछन् ।

नेपालमा बनिरहेका पीपीईको गुणस्तर विश्व स्वास्थ्य संगठनले उल्लेख गरेअनुसार भए–नभएकोबारे नापजाँच कसले गर्ने भन्ने प्रश्न यतिबेला उठिरहेकोछ । नक्कल गरेर निर्माण गरिएको व्यक्तिगत सुरक्षात्मक उपकरणको कच्चा पदार्थ र अन्य कुराको गुणस्तर मापन कसरी गरियो भन्ने पनि ख्याल गर्न जरुरी छ ।

स्वास्थ्यकर्मीले जोखिमपूर्ण अवस्थामा पीपीई प्रयोग गर्ने भएकाले निर्माण गर्दापनि ध्यान दिन आवश्यक हुन्छ । पीपीई अन्तर्गत गाउन लगाउँदा पानी, हावा र जीवाणु शरीरमा छिर्नु हुदैन । गाउन निर्माण गर्दा पनि अत्यन्तै सम्वेदनशील भएर सुरक्षित र सफारुपमा निर्माण गरिनुपर्छ ।

नेपालगन्जमा पनि पीपीई अभावलाई मध्यनजर गर्दै स्थानीय तहमै यसको निर्माण र प्रयोग थालिएकोछ । तर, पीपीईको गुणस्तर ९९ प्रतिशत दुरुस्त भएर १ प्रतिशतमात्र पनि कम भए उपचारको क्रममा सरुवा रोग सर्ने खतरा हुन्छ । पीपीई कति उत्पादन गर्ने भन्दा पनि गुणस्तरमा कति ध्यान दिइएको छ त्यो महत्वपूर्ण हुन्छ ।

पीपीई अभाव भएको खण्डमा संक्रमित बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी निश्चित संख्यामा मात्र खटाएर गुणस्तरीय पीपीई लगाएर उपचारमा लाग्नुपर्छ ।

अझ पछिल्लो समय नेपालगन्जसहित देशभर कोरोना भाइरस रोकथाममा सक्रिय चिकित्सक, एम्बुलेन्स चालक, सुरक्षाकर्मी लगायतलाई पीपीई लगायतका सामाग्री वितरण गर्ने होडबाजी नै चलेकोछ । यसले केही समयका लागि चर्चा बटुल्नेछ तर, मानव स्वास्थ्यलाई संक्रमणबाट बचाउन नसक्ने स्वास्थ्य विशेषज्ञले चेतावनी समेत दिएकाछन् ।

पीपीईको कसले लगाउने, कुन अवस्थामा लगाउने, लगाउने र फुकाल्ने तरिकाका बारेमा जानकारी नहुँदा अन्धभक्त स्वरुप उनीहरु आफ्नो ज्यान दाउमा लगाएका हुन्छन् यो उनीहरुको स्वास्थ्यलाई लिएर खेलेको ठूलो षडयन्त्र नै हो ।

व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) लगाएर शौचालय समेत जान मिल्दैन भने अनावश्यक ब्यक्तिलाई पीपीई वितरण गर्नु आफैमा हास्यास्पद विषय हो । समाचार र सामाजिक सञ्जालमा चर्चा कमाउन नथाक्ने पटमूर्खका कारण झन भयाभह अवस्था सिर्जना हुने हुदाँ यस्ता पीपीई निर्माण, यसको गुणस्तरता, यसको प्रयोग लगायतका विषयमा सम्बद्ध सरोकारवाला तथा सरकारले बेलैमा ध्यान दिई कडा निगरानी गरिनुपर्छ ।

जोखिमयुक्त समयमा लगाउन प्रयोग गरिने व्यक्तिगत सुरक्षात्मक उपकरणलाई सही ठाउँमा उपयोग गरिनुपर्छ । पीपीई एकपटक प्रयोग गरिसकेपछि पुनः प्रयोग गर्न नहुने भएकाले महामारीको बेलामा स्वास्थ्यकर्मीले आवश्यक अवस्थामा मात्र यसको प्रयोग गर्नुपर्ने उत्तम हुन्छ ।

स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षात्मक उपकरण प्रयोग गरेपछि शरीरबाट निकाल्दा संक्रमण फैलिन नदिनका लागि ख्याल समेत गर्नुपर्छ ।
व्यक्तिगत सुरक्षात्मक उपकरणभित्र मास्क, गाउन, हेडकभर, गगल्स, ग्लोब्स लगायतका आवश्यक सामाग्री पर्दछन् । कमसल, गुणस्तरहीन र सामान्यखालका पलास्टिक प्रयोग गरि निर्माण गरिएका पीपीईले थप जोखिम निम्त्याउने भएको हुदाँ यसतर्फ सवैको ध्यान जान जरुरी छ ।