अनुगमनको नाममा सामाजिक दूरी समेत लत्याइयो
सामाजिक दूरी उल्लंघन गरि अनुगमनका नाममा कोरोनाको जोखिम बढाउदै मन्त्री बराल सहित बाँकेका सरोकारवाला ।
नेपालगन्जः कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै संघीय सरकारले देशभर लकडाउन गरेको छ । यता बाँके प्रशासनले जनता कफ्र्यु लगाएकोछ ।
तर, सरकारले लकडाउन तथा बाँके प्रशासनले जनता कफ्र्यु लगाइरहदाँ प्रस्तावित लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले यसको उल्लंघन गरेकाछन् ।
प्रस्तावित लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री बरालले लकडाउन मात्रै होइन कोरोना भाइरसबाट बच्न सरकारले लागु गरेको सामाजिक दूरीको खुल्लमखुल्ला धजिया उडाएकाछन् ।
बाँकेको खजुरा गाँउपालिका स्थित क्यान्सर अस्पतालमा रहेको आइसुलेसन वार्ड अनुगमन गर्ने नाममा सरकारको निर्देशन मन्त्री लगायत सरोकारवालाहरुद्वारा उल्लंघन गरिएको हो ।
कोरोना भाइरसको जोखिमले देश मात्र नभइ विश्व जगत नै संकटमा परेको अवस्थामा लावालस्कर सहित भिड जम्मा गर्दै सरकारकै उच्च पदस्थ ब्यक्तिले सरकारद्वारा जारी निर्देशन र व्यवस्थाको खुलेयाम उल्लङ्घन गरेका हुन् ।
यकातिर सकारले कोरोना भाइरसबाट बच्न सामाजिक दूरी कायम गर्दै २५ जना भन्दा बढि भेला हुन नपाउने ब्यवस्था गरेकोछ । तर, प्रस्तावित लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री बरालले बाँकेको खजुरामा रहेको क्यान्सर अस्पताल र भेरीमा निर्मित आइसुलेसन वार्डको अनुगमन गर्ने क्रममा उनले यस्तो गरेका हुन् ।
प्रदेशकै सामाजिक विकास मन्त्री सामाजिक दूरी कायम गराउदै समाजलाई कोरोना जस्तो महामारिबाट बचाउनुपर्नेमा आफै समाजप्रति गैरजिम्मेवार हुदै समाजमा कोरोना भाइरसको जोखिम फैलाइरहेकाछन् ।
सामाजिक दूरी कायम गर्न नसक्ने प्रदेशका सामाजिक विकास मन्त्रीको यस्तो कार्यले सरकारले कोरोनाबाट बच्न गरेको प्रण र प्रयासहरु बालुवामा पानि हाले सरह भएकोछ ।
सामाजिक दूरीविना क्यान्सर अस्पताल भित्र गरिएको कार्यक्रममा ५० भन्दा बढिको सहभागिता थियो । जहाँ मन्त्रीसगैं खजुरा गाँउपालिकाका स्थानीय, राजनितिक दल, गाँउपालिका प्रमुखदेखि जिल्ला स्थित उच्च पदस्थ तथा मन्त्रीसगं आएका टोलीले भरिभराउ थियो ।
अनुगमनका नाममा सामाजिक दूरी नै कायम नगरेको भन्दै यतिबेला मन्त्री बराल तथा कार्यक्रममा उपस्थित ब्यक्तिहरुको आलोचना भइरहेकोछ ।
शक्ति र सत्ताका आडमा चर्चा कमाउन पछि नहट्ने यस्ता समाजका दुश्मन, गैर जिम्मेवार मन्त्रीलाई सामाजिक बहिस्कार गरिनुपर्ने खजुराबासी मनोज थापा बताउँछन् ।
उनले सेतोखरीसंग कुरा गर्दै भने –‘कोरोनाको संक्रमणका अवस्थामा पनि लावालस्करसहित अस्पताल पुगेका मन्त्रीले आफ्नै सरकारको निर्देशन पालना गर्दैन भने आम नागरिकले कसरी पालना गरुन् ?’
यस्तै खजुरा गाँउपालिकाका स्थानीय केदार खनालले सेतोखरीसंग कुरा गर्दै भने –कोरोना र सरकारको निर्देशन तल्लो तह, ज्यालामजदुरी गर्ने ब्यक्तिलाई मात्र रहेछ, यस्ता उच्च पदस्थलाई लाग्दो रहनेछ । त्यही प्रष्ट भयो ।’
‘संक्रमणको जोखिममा मन्त्रीले यसरी भिडभाड गराएर के सावित गर्न खोजेका हुन् ? यस्ता पनि सामाजिक विकास मन्त्री जो सामाजिक दूरी नै उल्लंघन गर्छन्’ कडा स्वभावमा खनालले भने–‘निर्देशन दिने ब्यक्तिलाई कोरोना लाग्दोरैनछ ।’
कोरोना भाइरस संक्रमणका विच अनुगमनका नाममा अनावश्यक भिड जम्मा गर्दै मन्त्री बरालले के सावित गर्न खोजेका हुन् ? सेतोखरीसंग जिज्ञासा राख्दै खजुराका ऋषी पोखरेलले भने–‘मन्त्री बराललाई कानून लाग्दैन, कोरोनाको संक्रमण उनलाई हुदैन ? उनको यो गैरजिम्मेवारी र लापरबाहीबाट यदि कसैमा कोरोना संक्रमण भयो भने सजायका भागेदार हुन्छन् मन्त्री ।’
सरकारकै निर्देशन पालना गराउनुपर्ने अवस्थमा आफै त्यसको उल्लंघन गर्दै हिडेका मन्त्री बराललाई कारबाही गरिनुपर्ने नागरिक समाजका अगुवाहरु बताउँछन् ।
उक्त अनुगमनमा उनीसगैं प्रदेश सासंद कृष्णा केसी ‘नमुना’, प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, बाँके प्रहरी प्रमुख वीरबहादुर ओली, नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमाथापा मगर, भेरी अस्पतालका मेसु प्रकाश थापा, खजुरा गाँउपालिकाका प्रमुख किस्मत कक्षपती लगायत स्थानीय राजनितिक दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । मन्त्रीसगैं यी ब्यक्तिहरुले समेत सरकारको लकडाउन र सामाजिक दूरीको उल्लंघन गरेका हुन् ।