एकैदिन भेटिए ३ कोरोना संक्रमित


एकैदिन भेटिए ३ कोरोना संक्रमित

नेपालगन्जः नेपालमा कोरोना भाइरस संक्रमणको संख्या ९ पुगेकोछ । पछिल्लो पटक बाग्लुङकी ६५ वर्षीया बृद्धलाई कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

उपत्यका बाहिर पहिलोपटक तीन जनामा कोरोना भाइरस संक्रमण देखिएपछि कोरोना संक्रमणको अवस्था भयावह बन्दै आएकोछ । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा थप तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरेको हो । मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् । २ जना भारतबाट आएका हुन् । सातौं केस धनगढीको पहिलो र नेपालको चौथो संक्रमितका भाउजू हुन् । उनी ३४ वर्षीया महिला हुन् ।

आठौँ केस लम्की कैलालीका २१ वर्षीय पुरुषमा देखिएको छ । उनी केही समयअघि भारतको मुम्बईबाट आएका हुन् । उनी क्वारेन्टाइनमा थिए । नवौँ केश भारतको उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा देखिएको छ । उनी पनि क्वारेन्टाइनमा रहेका थिए ।

संक्रमित तीनै जनालाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ । कैलाली र कञ्चनपुरको यो घटनाले पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सरकारले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभर गरेको लकडाउन केही फितलो बनाउने तयारी गरेको थियो । तर, शनिबार एकैपटक तीनजनामा देखिएको कोरोना संक्रमणले सरकारलाई थप चुनौती दिएकोछ । अझ नेपालगन्ज लगायतका क्षेत्रमा लकडाउनलाई उल्लंघन गर्दै सडकमा भिड गर्नुको परिणाम भयाभह हुनसक्ने देखिएकोछ ।