File Photo
नेपालगन्ज: कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कम्तीमा एक साता लकडाउन लम्ब्याउने तयारी गरेको छ ।
सरकारले पहिलोपल्ट चैत्र ११ गतेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । १७ गते बसेको उच्चस्तरीय समितिको बैठकले २५ गतेसम्म कायम राख्न प्रस्ताव गरे बमोजिम मन्त्रिपरिषद्ले थप एकसाता लम्ब्याएको थियो ।
बिहीबार बसेको उच्चस्तरीय समितिको १६ औं बैठकले पारिवारिकरूपमा खेती–बालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिनेगरी केही खुकुलो पार्ने निर्णय गरेको थियो । तर, सुदूरपश्चिम प्रदेशमा एकसाथ तीन जनामा सङ्क्रमण देखिएपछि सरकारले थप कडाइका साथ वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने तयारी गरेको बुझिएकोछ ।
आज सोमबार अपराह्न चार बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दैछ । सो मन्त्रिपरिषद् बैठकमा लकडाउन लम्ब्याउने र नियमित विषयमा निर्णय हुने बुझिएकोछ ।
यसअघि सरकारले अप्रिल १५ सम्म अन्तर्राष्ट्रिय उडान रोकेकोले त्यतिबेलासम्म लकडाउन कायमै रहने गरी प्रस्ताव गर्न लागिएको स्रोतको दावि छ । यद्यपी सरकारले कोरोना भाइरसको जोखिम बढेसगैं एक स्थानीय तहबाट अर्को स्थानीय तह जान रोक समेत लगाउने बताएको छ ।