खजुरा गाउँपालिकाद्वारा राहत वितरण


खजुरा गाउँपालिकाद्वारा राहत वितरण

खजुरा: बाँकेको खजुरा गाउँपालिकाले लकडाउनको कारण दैनिक चुलो बाल्न नसक्नेहरुका लागी राहत वितरण सुरु गरेको छ । गाउँपालिकाद्वारा वितरण गरिने २५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल सहित वडा वडामा राहत सामाग्री पठाउन थालिएको छ ।

खजुरा गाउँपालिकामा वडा नम्बर १ देखि ८ सम्मका अति विपन्न, विपन्नहरुलाई राहत वितरण दिन सुरु गरिएको हो । १६ सय ९८ जना परिवारलाई राहत वितरण गरिने कार्यक्रम अन्तरगत आज खजुरा गाउँपालिकाले वडास्तरबाट वितरण सुरु गरेको छ ।

खजुरा गाँउपालिकाको वडा नम्बर ३, ४ र ५ वडामा यसअघि राहत पठाईसकिएको खजुरा गाउँपालिकाका सूचना अधिकारी दील बहादुर पौडेलले जानकारी दिए ।

यसरी हरेक वडामा पठाइने राहत सामाग्रीलाई वडा कार्यालयले छनोट गरेको घर परिवारलाई वितरण गरिने गरि प्रक्रिया मिलाइएको खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले बताए ।

उनका अनुसार यसरी राहतवितरण गर्दा सामाजिक दुरी कायम गर्दै एक पटकमा १० परिवारलाई वितरण गरिने गरि व्यवस्था मिलाइएको जानकारी दिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीका अनुसार राहत वितरणका लागी यस अघिनै राहत वितरण मापदण्ड पारित गरेको बताए ।