लक्षण नदेखिएका कोरोना संक्रमित खोज्दै चिन


लक्षण नदेखिएका कोरोना संक्रमित खोज्दै चिन

नेपालगन्ज: कोरोना भाइरसको चपेटमा परेको विश्वमा चिनले लक्षण नै नदेखिएका कोरोना संक्रमितको खोजि थालेकोछ । दोस्रो चरणको कोरोना संक्रमणको प्रकोप नियन्त्रणको प्रयासका लागि चिनले लक्षण नदेखिएका कोरोना संक्रमितको खोजी तीव्र रुपमा अघि बढाएको हो ।

चिनले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नयाँ उपाय अपनाउँदै लक्षण नदेखिएका संक्रमितको खोजि गरिरहेकोछ ।  चिनले कोरोना भाइरसको लक्षण नदेखिएका तर, भाइरसको संक्रमण भएकाहरुको गत अप्रिल १ देखि खोजी थालेको हो ।

हिजो बुधबार मात्रै चिनमा ६३ नयाँ संक्रमित फेला परेका छन् । यसअघि मंगलबार ६२ संक्रमित फेला परेको चिनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । बुधबार देखिएका नयाँ कोरोना संक्रमितमध्ये ६१ जना कोरोना संक्रमण भएको मुलुकबाट चिन आएका नागरिक रहेको बताइएको छ । यससँगै चिनले अर्को चासो ज्वरो, खोकीजस्ता लक्षण नदेखिएका कोरोना संक्रमित अथवा सुषुप्त कोरोना भाइरसबाहको खोजीतर्फ छ । चिनमा बुधबार ५६ जना लक्षण नदेखिएका कोरोना संक्रमित फेला परेका छन् । १ अप्रिलदेखि चिनमा लक्षण नदेखिएका कोरोना संक्रमितको संख्या ६ सय ५७ पुगेको छ ।

चिनले फेब्रुअरीमा विभिन्न प्रान्तमा लकडाउन घोषणा गरेसँगै नयाँ संक्रमितको संख्यामा कमी आएको थियो । विभिन्न सहरहरुमा आवतजावतमा कडा प्रतिबन्ध, अधिकारीहरुको नियमित अनुगमन र नियमनका र मानिसहरुलाई घरबाट बाहिर निस्किन प्रतिबन्ध लगाएर सामाजिक दूरी कायम गर्न थालेसँगै कोरोना संक्रमितको संख्यामा कमी आएको हो ।

अहिले चिनमा बाहिरबाट चिन फर्किएका नागरिकहरुमा हुने र उनीहरुबाट संक्रमण फैलिनसक्नेप्रति मुख्य चिन्ता छ । त्यसका लागि उनीहरुलाई क्वारेन्टाइनमा राख्ने, पटक–पटक जाँच गर्नेलगायत सावधानी अपनाइएको छ ।

चिनको वुहानमा जनवरी २३ मा लगाइएको लकडाउन करिब ११ सातापछि खुला गरिएपछि उच्च सावधानी अपनाइएकोसमेत बताइएको छ ।