नेपालगन्ज: गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ४ हजार टेष्ट किटसहितका स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोग गरेकोछ ।
एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार संघको दक्षिण कोरिया शाखाले संकलन गरेको सो सामग्री नेपाल सरकारलाई सहयोगस्वरुप शुक्रवार प्रदान गरिएको हो ।
एनआरएनए दक्षिण कोरियाले खरिद गरेका ४ हजार टेस्ट किट र ५ सय वटा स्वास्थ्यकर्मीले लगाउने विशेष सुरक्षा उपकरण (पीपीई) नेपाल पठाएको हो । ती सामग्री अगामी हप्तासम्म नेपाल सरकारमार्फत स्वास्थ्य केन्द्रमा पुग्ने संघले जनाएको छ ।
यस्तै गैरआवासीय नेपाली संघ चिनको पहलमा ५ सय ५० वटा आईआर थर्मोमिटर, २० हजार वटा पीपीई सेट, १७ हजार ४ सय केएन ९५ मास्क, ४७ हजार डिस्पोजेबल मास्क र ४० लाख पञ्जा शनिबार काठमाडौं पुग्ने जनाकारी अध्यक्ष पन्तले दिए ।
‘एक नेपाली एक हेल्थ किट अभियान’ अन्तर्गत संकलित रकमबाट कोरोना संक्रमण भए नभएको चेक गर्ने प्रभाबकारी हेल्थ किट किनेर पठाउने निर्णय बमोजिम ती सामग्री नेपालको लागि कार्गो गरिएको एनआरएनए कोरियाले जनाएको छ ।