File Photo
नेपालगन्ज : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अहिले विश्वभर सामाजिक दूरी कायम राख्न गरिएका प्रयास हटाउन हतार गरे घातक हुने बताएकोछ ।
कोरोना भाइरस संक्रमणबाट बच्ने सवैभन्दा उत्तम उपाय भनेकै सामाजिक दूरी हो । जसलाई हटाउन हतार गरिए पुनः कोरोना संक्रमण फैलन सक्ने भयाबह अवस्था रहेको भन्दै लकडाउन हटाउन हतार नगर्न डब्लुएचओले यस्तो चेतावनी दिएको हो ।
हतारमा लकडाउन हटाए कोरोना भाइरस संक्रमितको संख्या झन् उल्लेख्य मात्रामा बढ्न सक्ने चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेससले केही मुलुकले आर्थिक समस्याको सामना गर्नुपरेको भए पनि सामाजिक दूरी कायम राख्न गरिएका प्रयास खुकुलो पार्ने वा केही समयका लागि हटाउने सोँच बनाएकाले यस्ता विषयमा भने सतर्क हुनुपर्ने बताए ।
कोरोना भाइरस संक्रमणका कारण यतिबेला यूरोपको सबैभन्दा प्रभावित मुलुकहरु स्पेन र इटालीले मुलुकमा लगाइएको केही प्रतिबन्ध खुकुलो पार्ने तयारी भइरहेको छ । तर, उनीहरुको लकडाउन भने जारी छ ।
जेनेभामा भएको ‘भर्चुअल पत्रकार सम्मेलन’मा बोल्दै उनले पछिल्लो समय यूरोपेली मुलुकमा यो महामारी सुस्ताउँदै गएको बताए । उनले डब्लुएचओले अहिले कडाइ बढाउने विषयमा विश्वभरका मुलुकहरुसँग सहकार्य गरिरहेको बताए ।