लकडाउनमा भण्डारा: चौतर्फी विरोध
नेपालगन्ज: कोरोना भाइरस संक्रमणको उच्च जोखिममा बाँके देखिएकै बेला यसलाई बल पु-याउँदै उपमहानगरपालिकाले हचुवाको भरमा भण्डारा सञ्चालन गर्ने भनि गरेको निर्णयको चौतर्फी विरोध भएको छ ।
लक्षितवर्गका नाममा राहत र सहयोग वितरणमा देखिएको अनियमितता र ब्रम्हलुटले आजित नागरिकले उठाएका विरोधका आवाजलाई मत्थर पार्न उपमहानगरपालिकाले जनभावना नबुझेरै हचुवाको भरमा यस्तो निर्णय गरेको भन्दै उक्त निर्णयको चौतर्फी विरोध र आलोचना भइरहेको छ ।
उपमहानगरपालिकाले गरेको उक्त निर्णयको शनिबारदेखि नै बाँकेमा व्यापक विरोध तथा आलोचना हुँदै आएको छ । यसरी हचुवाको भरमा भण्डारा लगाउँने निर्णय गर्नु र आमनागरिकलाई भण्डारामा खाना खान आउनुपर्ने निमन्त्रणा गर्नुले उपमहानगर सरकार विरोधी गतिविधीमा सक्रिय हुन थालेको जानकारहरूको बुझाई छ ।
कोरोनाको उच्च जोखिममा बाँके देखिएका बेला नेपालगन्ज उपमहनागरपालिकाले अघि सारेको भण्डारा सञ्चालन योजना कुनै हालतमा पनि ठिक नभएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताएका छन् ।
उनकाअनुसार उपमहानगरपालिकाले सोमबारदेखि भण्डारा चलाउने निर्णय गरेपनि उक्त निर्णय कार्यान्वयनमा आउन नसक्ने भएको छ । उपमहानगरको निर्णयपछि गाउँगाउँबाट मात्रै नभई बस्ती र टोलबाट समेत व्यापक विरोध र आलोचना आइसकेको छ ।
प्रजिअ खड्काका अनुसार खाना नै खुवाउँने भएर प्रत्येक वार्डलाई जिम्मा दिएर लक्षितवर्गको पहिचान गरी घर–घरमा पु¥याउन सकिएला । उनले भने ‘तर, भण्डारा नै चलाउँन बाँके प्रशासनले अनुमति दिदैन र दिएको पनि छैन् ।’
उनले भने ‘यस्तो अबस्थामा उपमहानगरपाकिलाको उक्त योजना अघि बढ्न सक्दैन् ।’ उपमहानगरपालिकालाई बाँके प्रशासनले तत्कालै उक्त निर्णय खारेज गर्न र भण्डाराको विकल्प खोज्न अपील गरिसकेको प्रजिअ खड्का बताउँछन् ।
उनकाअनुसार नेपालगन्जमा लकडाउन कायमै रहेको छ । उनले भने ‘यस्तो जोखिमको बेला उपमहानगरपालिकाको भण्डारा योजना रोकिनुपर्छ । यसका लागि मैले सम्बन्धित निकाय र पक्षलाई कार्यक्रम रोक्न भनिसकेको छु ।’
बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली पनि उपमहानगरपालिकाले सञ्चालन गर्ने भनेको भण्डार समयानुकुल नभएको बताउँछन् । भण्डारामा आमनागरिक खाना खान आउने हुँदा त्यहाँ हुने भीडभाडलाई प्रहरीले समेत कन्ट्रोल गर्न असम्भव देखिएको छ ।
जनभावना विपरित सरकारको लकडाउन घोषणाको उल्लंघन गरी भण्डारा लगाउने अधिकार उपमहानगरपालिकालाई नभएको भन्दै कारकाँदोका स्थानीय स्मृति डीसी उपमहानगरपालिकाले भण्डारा सञ्चालन गरेमा लकडाउनको सोझै उल्लघन हुने निश्चित भएको बताउँछिन् ।
उपमहानगरपालिकाले सफा नियतले लक्षितवर्गका लागि उक्त भण्डारा चलाउन खोजेपनि उक्त भण्डारामा सरकारी नीति र मापदण्डअनुसार सामाजिक दुरी कायम हुन नसक्ने देखिएको छ । उपमहानगरपालिकाले जति व्यवस्थापन मिलाउदै छौं भनेर जिद्धी गरेपनि सामाजिक दुरी कायम हुन कठिन देखिएको उनी बताउँछिन् ।
उपमहानगरपालिकाको वडा नम्बर ५ स्थित हडियाबाबा मन्दिर परिसर, वडा नम्बर २ स्थित बागेश्वरी मन्दिरको पार्क, वडा नम्बर ९ स्थित रामलिला मैदान, वडा नम्बर २० स्थित आदर्श मावि राँझा र वडा नम्बर १२ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पछाडी रहेको आँप बगियामा निःशुल्क भण्डारा सञ्चालन गर्ने तयारी गरको छ । तर, यी ठाउँमा कुनैपनि हालतमा सामािजक दूरी कायम हुनुका साथै भीडभाड कम हुने सम्भावनै देखिदैन् ।
कारकाँदोको मान्छे राँझामा, चौलिक्काको मान्छे रामलिला मैदानमा खाना खान जाँदा कसरी सामाजिक दूरी कायम र भीडभाड कम होला यस विषयमा उपमहानगरपालिकाका जनप्रतिनिधीले गम्भीर हुन जरूरी देखिएको छ ।
सस्तो लोकिप्रयताका लागि सरकारको लकडाउन नै उल्लङ्घन गर्न खोज्ने जोकोहीमाथि सरकारले कारबाहीको नीति अभिलम्ब गर्नुपर्ने जानकारहरू बताउँछन् । उपमहानगरपालिकाले उक्त भण्डारा सञ्चालन गर्ने निर्णय गरेसँगै फेसबुक लगायतका सामाजिक सञ्जालमा यसको चर्को विरोध र आलोचना बढेको छ ।
समाजिक सञ्जाल फेसबुकमा उपमहानगरपालिकाले चलाउँन लागेको भण्डारा ठिक कि बेठिक ? भनी सोधिएको प्रश्नमा नेपालगन्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष शुक्रऋषि चौलागाई यो समयमा पुण्य वा पाप जे भएपनि भण्डार गर्नु समानुकुल नहुँने र यो योजना कुनैपनि कोणबाट ठिक नभएको बताउँछन् ।
फेसबुकमा कमेन्ट गर्दै नेपालगन्जका स्थानीय तथा सुशासनविज्ञ मिन मल्ल उपमहानगरपालिकाको नियत असल भएपनि विधि विलकुल्लै गलत भएको बताउँछन् ।
सरकारले लकडाउन गरेको अवस्थामा यसरी गरिने भण्डारामा सामाजिक दूरी पालना हुन नसक्ने टिकापुरका पुरू दाहाल फेसकुबमा कमेन्ट लेख्दै उपमहानगरपालिकाको निर्णय समयअनुकल नभएको बताउँछन् ।
सामाजिक सञ्जाल फेसबुककै कमेन्टमा स्थानीय झसिन्द्रा केसी र गीता आचार्यले उपमहानगरपालिकाको लक्षितवर्ग लक्षित उक्त योजना धेरै राम्रो भएपनि अहिलेको अवस्थामा भण्डारा चलाउँनु गलत भएको प्रतिक्रिया दिएका छन् ।
कोरोना भाइरसको सक्रमणको त्रासले घरभित्रै लकडाउनमा बसेका नेपालगन्जियालाई घर बाहिर निकालेर कोरोना संक्रमणको जोखिम बढाउने काममा उपमहानगरपालिका सक्रिय हुन थालेको आम नागरिकको बुझाई छ । यस्तो अवस्थामा भण्डारा सञ्चालन गरेर भीडभाड बढाउन खोज्नु कोरोना संक्रमणको शिकार बनाउँनु नै भएको स्थानीयले बताएका छन् ।
खजुराका स्थानीय सतिश निरौला उपमहानगरपालिकाको उक्त निर्णय तत्काल सच्चाइनुपर्ने र नेपालगन्जका विभिन्न ठाउँमा गर्ने भनिएका भण्डारा स्थगन गर्नुपर्ने बताउँछन् ।
उपमहानगरपालिकाको निर्णयको चौतर्फी विरोध आएपछि नेपालगन्जका युवा ऋषिराज देवकोटाले आप्mनो फेसबुकवालमा स्टाटस लेख्दै भोका र बिपन्न बर्गका लागि गरिने राहत स्वरूपको खाना प्रत्येक वार्डमा प्याकेट लगेर सामाजिक दुरी कायम राख्दै खुवाउँदा उचित हुने सुझाव दिएका छन् ।
उपमहानगरपालिकाले यसरी हचुवाको भरमा गरेको उक्त निर्णय सरासर गलत र जनताको सुरक्षा विपरित भएको भन्दै भण्डाराको विकल्प खोजिनुपर्ने कोहलपुरका स्थानीय शरद रेग्मी बताउँछन् । उनकाअनुसार जसले जति घमण्ड गरेपनि भण्डारामा सरकारले तोकेअनुसारको मापदण्ड पुरा गरी सामाजिक दुरी पालना र भीडभाड कम हुन सकदैन् ।
सोमबारदेखि सञ्चालन गर्ने भनिएको उक्त भण्डाराले संघीय तथा प्रदेश सरकारको लकडाउन उल्लघन गर्नुका साथै बाँके प्रशासनले गरेको जनता कफुर्यूको समेत धज्जी उडाउएको छ ।
यो पनि पढ्नुस्
लकडाउनमा निःशुल्क भण्डारा, कार्यान्वयन होला त सामाजिक दूरी ?