उपमहानगरको भण्डारा लगाउने निर्णय असफल


उपमहानगरको भण्डारा लगाउने निर्णय असफल

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाको भण्डारा सञ्चालन गर्ने निर्णय असफल भएकोछ । लकडाउनकाबीच नेपालगन्ज उपमहानगरपालिकाले नगरका विभिन्न पाँच स्थानमा भण्डारा खुवाउने तयारी गरेको थियो ।

कोरोना भाइरस संक्रमणको उच्च जोखिममा बाँके देखिएकै बेला यसलाई बल पु¥याउँदै उपमहानगरपालिकाले हचुवाको भरमा भण्डारा सञ्चालन गर्ने भनि गरेको निर्णयको चौतर्फी विरोध भएपछि उक्त निर्णय कार्यान्वयनमा आउन सकेन ।

सेतोखरीले कोरोना भाइरस संक्रमणको जोखिमका बीच सरकारको लकडाउन र सामाजिक दूरी विरुद्ध भण्डारा सञ्चालन गर्न लागेको भन्दै समाचार सम्प्रेषण गरेको थियो ।

लक्षितवर्गका नाममा राहत र सहयोग वितरणमा देखिएको अनियमितता र ब्रम्हलुटले आजित नागरिकले उठाएका विरोधका आवाजलाई मत्थर पार्न उपमहानगरपालिकाले जनभावना नबुझेरै हचुवाको भरमा यस्तो निर्णय गरेको भन्दै उक्त निर्णयको चौतर्फी विरोध र आलोचना भएपछि असफल भएको हो ।

उपमहानगरपालिकाले नगरका पाँच स्थानमा आज वैशाख १ गतेदेखि भण्डारा सञ्चालन गर्ने निर्णय गर्दै नगर कार्यपालिकाको बैठकबाट निर्णय गरिएको थियो ।

उपमहानगरपालिकाले गरेको उक्त निर्णयको शनिबारदेखि नै बाँकेमा व्यापक विरोध तथा आलोचना भएपछि कोरोना कहरका बिच स्वास्थ्य सर्तकता र संवेदनशिलता विपरित उपमहानगरपालिकाको निर्णयलाई कार्यान्वयन हुनबाट जिल्ला प्रशासन कार्यालय बाँकेले रोक लगायो ।
यसरी हचुवाको भरमा भण्डारा लगाउँने निर्णय गर्नु र आमनागरिकलाई भण्डारामा खाना खान आउनुपर्ने निमन्त्रणा गर्नुले उपमहानगर सरकार विरोधी गतिविधीमा सक्रिय भएको जानकारहरूको बुझाई छ ।

कोरोनाको उच्च जोखिममा बाँके देखिएका बेला नेपालगन्ज उपमहनागरपालिकाले अघि सारेको भण्डारा सञ्चालन योजना कुनै हालतमा पनि ठिक नभएको भन्दै रोकेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताएका छन् ।

उनकाअनुसार उपमहानगरपालिकाले (आज) सोमबारदेखि भण्डारा चलाउने निर्णय गरेपनि उक्त निर्णय कार्यान्वयनमा आउन नदिएको हो । उपमहानगरको निर्णयपछि गाउँगाउँबाट मात्रै नभई बस्ती र टोलबाट समेत भण्डाराको व्यापक विरोध र आलोचना भएको थियो ।

प्रजिअ खड्काले खाना नै खुवाउने भए प्रत्येक वडालाई जिम्मा दिएर लक्षितवर्गको पहिचान गरी घर–घरमा पु¥याउने खालको कार्य गर्नुपर्ने सुझाएका छन् । उनले भने ‘कोरोना संक्रमणको जोखिमतालाई मध्यनजर राख्दै भण्डारा नै चलाउन बाँके प्रशासनले अनुमति दिदैन र दिएको पनि छैन् ।’

बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली पनि उपमहानगरपालिकाले सञ्चालन गर्ने भनेको भण्डार समयानुकुल नभएको बताउँछन् ।
भण्डारामा आमनागरिक खाना खान आउने हुँदा त्यहाँ हुने भीडभाडलाई प्रहरीले समेत कन्ट्रोल गर्न असम्भव देखिएको भन्दै पछि हटेको थियो ।
उपमहानगरपालिकाले वडा नम्बर ५ स्थित हडियाबाबा मन्दिर परिसर, वडा नम्बर २ स्थित बागेश्वरी मन्दिरको पार्क, वडा नम्बर ९ स्थित रामलिला मैदान, वडा नम्बर २० स्थित आदर्श मावि राँझा र वडा नम्बर १२ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पछाडी रहेको आँप बगियामा निःशुल्क भण्डारा सञ्चालन गर्ने तयारी गरेको थियो ।

यी स्थानमा उपमहानगरपालिकाको विहान र बेलुका दुई पटक खाना खुवाउने तयारी थियो ।