File Photo
नेपालगन्ज: नयाँ वर्षको पहिलो दिनमै नेपालमा थप दुईजनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि संसरकारले थप एकहप्ता लकडाउन लम्ब्याउने तयारी गरेको छ ।
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको स्रोतले दिएको जानकारी अनुसार कम्तिमा एक हप्ताका लागि लकडाउन लम्ब्याउने सरकारको तयारी छ ।
भोली मंगलबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको समयावधि बढाउने तयारी गरेको बुझिन आएकोछ । यद्यपी नेपालमा कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै लकडाउनको सीमाअवधि बढाईनुपर्ने माग आम जनसमुदायबाट आइरहेकोछ ।
यसअघि सरकारले थप गरेको लकडाउन पर्सी बुधबार सकिँदैछ । सरकारले लकडाउन एक हप्ता लम्ब्याएमा वैशाख १० गतेसम्म नेपाल लकडाउन भएको अवधि एक महिना पूरा हुनेछ ।
कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले पहिलोपल्ट चैत्र ११ गते बिहान ६ बजेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । त्यपछि आठ दिन थपेर चैत २५ गतेसम्म कायम गरिएको थियो । पछि लकडाउनलाई केही खुकुलो पार्ने निर्णय गरेको सरकारले सुदूरपश्चिम प्रदेशमा एकसाथ तीन जनामा कोरोना संक्रमण पोजेटिभ पाएपछि सरकारले थप कडाइ गरेको थियो ।
हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ जना पुगेको छ । यद्यपी एक जना यसअघि पूर्णरुपमा निको भइसकेकाछन् । नेपाल सरकारको तथ्यांक अनुसार हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।