File Photo
नेपालगन्जः भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको छ । बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन् । यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार (३ गते) सकिँदै छ ।
यसैबीच, कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको स्रोतले दिएको जानकारी अनुसार नेपाल सरकारले कम्तिमा एक हप्ताका लागि लकडाउन लम्ब्याउने तयारी गरेकोछ ।
आज मंगलबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको समयावधि बढाउने तयारी गरेको बुझिन आएकोछ । यद्यपी नेपालमा कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै लकडाउनको सीमाअवधि बढाईनुपर्ने माग आम जनसमुदायबाट आइरहेकोछ ।
नयाँ वर्षको पहिलो दिनमै नेपालमा थप दुईजनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि संसरकारले थप एकहप्ता लकडाउन लम्ब्याउने तयारी गरेको छ । तर, भारतमा कोरोना संक्रमणको जोखिम बढेसगैं नेपाल पनि त्यसको उच्च जोखिममा रहेकाले सीमानाका कडाई गर्दै लकडाउन लम्ब्याउनुको विकल्प छैन ।
यसअघि सरकारले थप गरेको लकडाउन भोली बुधबार सकिँदैछ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले पहिलोपल्ट चैत्र ११ गते बिहान ६ बजेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो ।
त्यसपछि आठ दिन थपेर चैत २५ गतेसम्म कायम गरिएको थियो । पछि लकडाउनलाई केही खुकुलो पार्ने निर्णय गरेको सरकारले सुदूरपश्चिम प्रदेशमा एकसाथ तीन जनामा कोरोना संक्रमण पोजेटिभ पाएपछि सरकारले थप कडाइ गरेको थियो ।
हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ जना पुगेको छ । यद्यपी एक जना यसअघि पूर्णरुपमा निको भइसकेकाछन् । नेपाल सरकारको तथ्यांक अनुसार हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।