कोभिड–१९ बाट मर्नेलाई छुन नदिने सरकारको कार्यविधि


कोभिड–१९ बाट मर्नेलाई छुन नदिने सरकारको कार्यविधि

नेपालगन्ज: कोरोना भाइरसका कारण मृत्यु भएका ब्यक्तिको शवलाई छुन नदिनेगरि सरकारले कार्यविधि बनाएकोछ । गत चैत्र २५ गते जारी उक्त कार्यविधिमा मृृतकका आफन्तले शव हेर्न चाहेमा एक मिटरको दूरीबाट मात्र हेर्न पाउने उल्लेख छ ।

कोरोना भाइरसबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न सरकारले यस्तो कार्यविधि बनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधिमा कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको अन्तिम कर्म अन्य रोगी मृतकको जस्तो हुँदैन ।

कार्यविधिअनुसार कोरोनाबाट मृत्यु भएकाको शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य प्रयोग गर्नुपर्नेहुन्छ ।

त्यस्तै मृतकको अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) लगाउनुपर्ने हुन्छ । जसमा पञ्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई रहनेछ । मृतकको शवलाई कम चलाउने र शवमा लागेका पाइप, केथेटरलगायत सामग्री सतर्कतापूर्वक हटाउन उक्त कार्यविधिले भनेको छ ।

त्यस्तै मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिएपनि सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पु¥याउनुपर्ने भनिएको छ ।

अझ कोरोना भाइरसको संक्रमण रोकथामका लागि सर्तकता अपनाएको सरकारले कोभिड–१९ बाट मृत्यु भएका ब्यक्तिको शवलाई ६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगी भएकालाई नजिकै जान नदिने, अन्तिम संस्कार गर्दा सकभर शव नछुने तथा कोरोनाबाट मृत्यु भएकाको पोष्टमार्टम सामान्यतया गर्न नपर्ने गरेपनि सावधानी अपनाएर मात्रै गर्ने कार्यविधिमा उल्लेख छ ।

यो कार्यविधि अनुसार अब नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुने कुनैपनि जात, धर्म तथा समुदायका ब्यक्तिको अन्तिम संस्कार गर्नुपर्ने हुन्छ ।

हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणको संख्या १६ पुगेकोछ । जसमध्ये १ जना पूर्ण निको भइसकेकाछन् । खुसीको कुरा माघ १० गते पहिलो पटक नेपालमा कोरोना भाइरस सक्रंमित भेटिएपनि हालसम्म कोरोनाका कारण कसैले पनि ज्यान गुमाएका छैनन् ।