सुदूरपश्चिम र २ नम्बर प्रदेश कोरोनाको उच्च जोखिममा: सरकार
नेपालगन्ज: कोरोना भाइरसको जोखिम बढेसगैं बन्द गरिएको नेपाल–भारत सीमा नाका खुल्ने अनिश्चित भएकोछ । मन्त्रीपरिषद्को मंगलबार बसेको बैठकले नेपाल–भारत सीमा नाकाको सुरक्षा पहिलेको भन्दा झन् कडा कडाई गर्दै लाने छलफल भएकोहो ।
मन्त्रिपरिषदको बैठकमा भारतमा कोरोना भाइरस संक्रमण तीव्ररुपमा फैलिदो अवस्थामा रहेकाले सीमा क्षेत्रमा थप सुरक्षा तैनाथीसहित कडाई गर्ने तय सरकारले गरेको छ ।
मङ्गलबारदेखि थपिएको १२ दिनको लकडाउनलाई आन्तरिक रुपमा थप कडाई गर्दै सीमा क्षेत्रमा अझ निगरानी गर्न लागिएको हो । योबीच नेपाल–भारत सीमानाकाबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम नरोकिएकोले यसतर्फ सरकारले थप सर्तकता अपाएकोछ ।
भारतमा महामारी अन्त्य भएर सामान्य अवस्थामा नफर्केसम्म सीमा नाका बन्द नै राख्ने र सुरक्षा तैनाथी बढाउने निर्णय भएको खुल्न आएकोछ । जसका लागि सीमानाकामा विशेष सतर्कता अपनाइ थप शक्ति केन्द्रित गरिदैछ ।
अहिलेको अवस्थामा नेपालमा सबैभन्दा ठूलो खतरा भारतबाट लुकीछिपी आउनेहरुबाटै देखिएको छ । यसरी आएकाहरुको पहिचान गरेर सबैको परीक्षण गराउने क्रम सरकारले गरिरहेकोछ । यद्यपी सीमा नाका वैशाख १८ सम्म बन्द गर्ने भनिएको छ तर, त्यो भनेको भारत सामान्य अवस्थामा नपुगेसम्म जारी रहन्छ ।
यस्तै मन्त्रिपरिषद् बैठकमा काठमाडौंबाट राती–राती हिँडेर विभिन्न गन्तव्यमा गइरहेकाहरुको बारेमा पनि छलफल भएको थियो । अब त्यसमा पनि सरकारले कडाई गर्ने भएको छ । जो जहाँ पुगेका छन् उनीहरुलाई स्थानीय तहमार्फत खाने बस्ने व्यवस्था गर्ने र अरुलाई निस्कन नदिने रणनीति सरकारले बनाएको छ ।
मन्त्रिपरिषद्को बैठकबाट लकडाउन अवधिमा विकास आयोजना सञ्चालन गर्ने छलफल भएकोछ । तर, जलविद्युत, सडक निर्माणलगायतका ठूला परियोजनाका काम सुरक्षा विधि अपनाएर जारी राखिने छ ।
यस्तै मन्त्रिपरिषद्को बैठकमा सरकारले सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर २ कोरोना संक्रमणको उच्च जोखिममा रहेको ठहर गर्दै ती क्षेत्रमा एक्सन टिम पठाउने निर्णय गरेकोछ । यद्यपी वैशाख २ गते सम्म नेपालमा कोरोना भाइरस पोजेटिभ १६ जना छन् । हालसम्म नेपालमा कोरोना भाइरसबाट कसैको मृत्यु भएको छैन ।