नेपालगन्ज: बाँके स्थित नेपाल–भारत सीमा क्षेत्र दशगजास्थित क्वारेन्टिनमा रहेका १८१ जनालाई बाँके प्रशासनले घर पठाउने तयारी गरेकोछ ।
नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा गरिएको आरडिटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई आजै आ–आफ्नो घर फर्काउने स्थानीय प्रशासनले तयारी थालेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमूख एवं जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।
जनस्वास्थ्य अधिकृत चन्दका अनुसार भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र उपमहानगरबाट खटिएका स्वास्थ्यकर्मीको टोलीले करिब चार घण्टा लगाएर आरडिटी परीक्षण गरेको थियो । उनीहरु सबैको आरडिटी किटबाट परीक्षण गरिएको पनि जनस्वास्थ्य अधिकृत चन्दले जानकारी दिए ।
उनीहरुलाई १५ दिनअघि क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा राखिएकाहरु सबै भारतबाट मजदूरी गरेर फर्किएका हुन् । १५ औं दिनमा गरिएको आरडिटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसेका नेपालीहरुले आफूहरुमा कोरोना संक्रमण नरहेको र घर फर्किन पाउने भन्दै खुशी व्यक्त गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमूख डा.धवलसम्शेर राणाले क्वारेन्टाइनमा दुई साता लामो बसाईका क्रममा अनुशासित ढंगले सहयोग गरेकोमा धन्यवाद पनि दिए । उनले आ–आफ्नो घर पुगेपछि पनि सात दिनसम्म अनिवार्यरुपमा परिवारका सदस्यहरुबाट टाढै रहेर होम क्वारेन्टाइनमा बस्न पनि उनीहरुलाई सुझाव दिए ।
दशगजास्थित क्वारेन्टिनमा राखिएका १८१ जनाको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ ।