मन्त्रालयले जान नदिएपछि फेरि क्वारेन्टाइनकै बास

बाँकेका २७९ जनामा कोरोना नेगेटिभ


मन्त्रालयले जान नदिएपछि फेरि क्वारेन्टाइनकै बास

नेपालगन्ज : बाँकेमा बिहीबारसम्म पिसिआर र आरडिटी विधिबाट परिक्षण गरिएका दुई सय ७९ जनामा कोरोना नेगेटिभ देखिएको छ । स्वाब संकलन गरेर पिसिआर विधिबाट परिक्षण गरिएका ७६ जना र क्वारेन्टाइनमा बसेर १४ दिन पूरा गरेका दुई सय तीन जनामा आरडिटी किटबाट कोरोमा परिक्षण गरिँदा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । बाँकेमा क्वारेन्टाइनमा बसेकाहरुको नमुना परिक्षणलाई तिव्रता दिइएको छ । उनकाअनुसार अब क्वारेन्टाइनमा तीन सय ४ जना छन् ।

यहाँका तीन अस्पतालको आइसोलेसनमा रहेका थप १५ जनाको स्वाब संकलन गरेर परिक्षणका लागि भैरहवा पठाइएको छ । नेपालगन्जको दशगजामा रहेका एक सय ८१ जनामा पनि कोरोना नेगेटिभ देखिएको नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए ।

नेपालगन्जको दशगजामा बनाइएको क्वारेन्टिनमा बसेका ब्यक्तिलाई घर पठाउन गरिएको तयारीलाई गृहमन्त्रालयले रोकेको उपमहानगरपालिकाले बताएको छ ।

भारतका विभिन्न शहरबाट आएका २६ जिल्लाका एक सय ८१ जनालाई विगत १५ दिनदेखि दशगजा क्षेत्रमा राखिएको छ । उनीहरुको बिहीबारआरडीटि टेष्ट गर्दा सवैजनाको नतिजा नेगेटिभ आएपछि घर पठाउने तयारी गरिएको थियो । उनीहरुलाई घर पठाउनका लागि क्वारेन्टिनमा गाडी समेत बोलाइएको थियो । धेरैजसो गाडीभित्र सामान राखिएका थिए । कतिपयले आ–आफ्नो सिट छानेर समेत बसिसकेका थिए ।

स्थानीय प्रशासनले गृहमन्त्रालयमा सम्पर्क गर्दा पठाउन नमिल्ने निर्देशन आएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का बताउँछन् । गृहमन्त्रालयबाट पठाउन नमिल्ने जवाफ आएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काले उनीहरुलाई अहिले पठाउने निर्णय भइनसकेको भन्दै घरजानबाट रोकेको बताइएको छ ।

१५ दिन क्वारेन्टिन बसेपछि आरडीटि टेष्टसमेत नेगेटिभ आएपछि उनीहरु घर जान खोज्नु सामान्य मानिने गरिएकोछ । जिल्लाकै अन्य पालिकाहरुले यस्तोमा घर जान दिएका छन् । दशगजामा राख्ने बेलामा उनीहरुले आन्दोलन गर्दा १४ दिन पछि घर पठाईदिन्छौ भन्ने आश्वासन पनि दिइएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवलशमसेर राणाले गृहमन्त्री रामबहादुर थापा र गृहसचिवलाई फोन समपर्क गर्दा गृहमन्त्री थापाले मन्त्रीपरिषद्को निर्णयले नै एक ठाँउबाट अर्को ठाँउमा जान रोकेको प्रतिक्रिया दिएको राणाले जानकारी दिए । मेयर राणाले भने ‘गृहमन्त्री थापाकाअनुसार अर्को निर्णय नहुदाँ सम्म जान मिल्दैन ।’