चार जिल्लामा ५ हजार सुरक्षाकर्मीकोे निगरानी


चार जिल्लामा ५ हजार सुरक्षाकर्मीकोे निगरानी

file Photo

नेपालगन्जः नेपाल–भारत सीमानाकाबाट लुकिछिपी नेपाल प्रवेश गर्नेको संख्या बढेसगैं प्रदेश १का चार जिल्लामा सीमा सुरक्षा कडाइ गरिएकोछ ।

प्रदेश १ का भारतसँग सीमाना जोडिएका चार जिल्ला सुनसरी, मोरङ, झापा र ईलाम जिल्लाका सीमा क्षेत्रमा शनिबारदेखि थप कडाइ गरिएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढेसगैं यो क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाइनुका साथै कडा निगरानी थालिएको छ ।

अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई सीमा क्षेत्रमा नै केन्द्रित गरेको छ । सीमा क्षेत्रमा तीन हजार सात सय सशस्त्र प्रहरी र एक हजार एक सय नेपाल प्रहरी परिचालन गरिएकोछ ।

शुक्रबार उदयपुरमा बसेका ११ जना भारतीयसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि यी जिल्लाको सीमा नाकामा सुरक्षाकर्मीको परिचालन बढाइएको हो ।

सशस्त्र प्रहरीले दशगजा क्षेत्रमा अहिले चौबिसै घण्टा गाडी, मोटरसाइकल, साइकल र पैदल गस्ती गरिरहेको जनाएको छ । दशगजामा चोकपोष्ट खडा गरी २४ घण्टा प्रहरी सुरक्षा तैनाथी बढाइएको छ । लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको सीमा क्षेत्रमा परिचालन बढाइएको सशस्त्र प्रहरी बल नेपाल प्रदेश १ बाहिनीले जनाएकोछ ।

प्रदेशको विशेष गरि मुख्य चार जिल्ला इलाम, झापा, मोरङ र सुनसरीमा थप पाँचसय जनशक्ति परिचालन गरि शनिबारदेखि उच्च निगरानी बढाइएको हो ।

नेपाल प्रहरीले चार जिल्लाको सीमा क्षेत्रलाई केन्द्रित गरी एक हजार एक सय एक जना प्रहरी परिचालन गरेको छ । भने लकडाउनपछि तीन हजार दुई सय सशस्त्र प्रहरी परिचालन भएकोमा शनिबारदेखि तीन हजार सात सय जना परिचालन भएका छन् ।

लकडाउनपछि दशगजा क्षेत्रको एक किलोमिटर दुरीमा सुरक्षापोस्ट शनिबारदेखि पाँचसय मिटरको दुरीमा खडा गरिएको छ । कुल दुई सय २९ स्थानमा सुरक्षा पोस्ट खडा राखिएको छ ।

भारतको विहार र पश्चिम बंगाल राज्यसँग सीमाना जोडिएको प्रदेश १ का जिल्ला इलाम, झापा मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कुल तीन सय ८ वटा नयाँ पोस्ट थपिएका छन् ।