नेपालगन्ज : विश्वब्यापी महामारी बनेको कोरोना भाइरसका कारण शनिबार साँझसम्म २८ नेपालीको मृत्यु भएकोछ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोबिड १९ उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विश्वभर २८ नेपालीको मृत्यु भएको छ भने करिब १२ सय नेपाली संक्रमित भएकाछन् ।
रोजगारी, व्यवसाय, अध्ययन लगायतका सिलसिलामा विश्वभर रहेका नेपाली यतिबेला कोरोना भाइरसको उच्च जोखिममा छन् । कोरोनाका कारण ज्यान गुमाउने नेपालीहरुमा सवैभन्दा बढि बेलायतमा रहेका नेपाली रहेकाछन् ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले हालसम्म बेलायतमा १७ जना, अमेरिका ८ जना, युएई २ जना, आयरल्याण्ड १ जनाको ज्यान गएको जनाएकोछ ।
यस्तै नेपालबाहेक विश्वभर १ हजार १ सय ६६ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित रहेको उक्त समितिको तथ्यांकले जनाएकोछ ।
उक्त समितिले तयार पारेको तथ्यांकअनुसार विश्वका २१ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन् ।
यस्तै उक्त समितिको तथ्यांका अुनसार विश्वभर रहेका नेपाली संक्रमित हुनेमा देशहरुमा सवैभन्दा बढी अमेरिकामा रहेका नेपाली संक्रमित भएकाछन् । तथ्यांगतरुपमा हेर्दा अमेरिकामा ७ सय जना, युकेमा २ सय जना, स्पेनमा १० जना, युएईमा ७१ जना, जर्मनीमा ४ जना, पोर्तुगलमा २२ जना, अष्ट्रेलियामा ११ जना, आयरल्यण्डमा २२ जना, साउदी अरबमा ४ जना, कुवेतमा २१ जना, फ्रान्समा १ जना, जापानमा १ जना, मलेसियामा ३ जना, म्यानरमारमा १ जना, बेल्जियममा ४ जना, क्यानाडामा ३ जना, स्वीट्डरल्याण्डमा ५ जना, मल्टामा २ जना र हङकङमा १ जना नेपाली रहेका छन् ।
विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधार मानि यो आँकडा तयार पारिएको समितिले जनाएको छ ।
यसबिच नेपालमा १९ हजार ५ सय ५४ जनामा कोरोना भाइरस संक्रमण परीक्षण गरिएकोमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने तीनजना कोरोना भाइरसबाट पूर्णरुपमा निको भएर घर फर्किसकेकाछन् ।