नेपालगन्जः नेपालमा कोरोना भाइरस संक्रमण संख्या ३१ पुगेपनि निको हुनेको संख्या बढ्दै गएकोछ । कोरोना संक्रमणको ग्राफ बढ्दै गइरहेको अवस्थामा निको हुनेको संख्या पनि उकालो लागिरहेकोछ ।
सुदूरपश्चिम प्रदेशको धनगढी स्थित सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित युवा निको भएका छन् । योसगैं नेपालमा कोरोना भाइरस संक्रमित निको भएको संख्या ४ पुगेकोछ । भने अन्य उपचारार्थ २७ जनाको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।
कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय ती युवाको दोस्रो र तेस्रो पटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको थियो ।
पहिलो रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका उनको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएकोछ । चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो । त्यसको २४ घण्टामा अर्को परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो ।
भारतबाट चैत ११ गते घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो । नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा उनी चैत्र १३ गते देखि बसेका थिए । ११ दिन क्वारेन्टाइनमा र १३ दिन आइसोलेसन बसेका उनी आज नै घर फर्किनेछन् ।