पाकिस्तानमा मस्जिद खुल्ने नेपालमा के हुने ?


पाकिस्तानमा मस्जिद खुल्ने नेपालमा के हुने ?

File Photo

नेपालगन्ज: मुसलमानहरुको ठूलो चाड ईदको पूर्वसन्ध्यामा मनाईने रमजानमा पाकिस्तानले मस्जिदहरू खुला गर्ने र सामूहिक नमाज पढ्न दिने भएको छ ।

यकातिर विश्व कोरोना भाइरसको जोखिमले थलापरिरहेको छ । कोरोना भाइरस संक्रमणले विश्वनै त्रसित भइरहेको अवस्थामा यसबाट बच्न विश्वभरका देशहरुले लकडाउन र सामाजिक दूरीलाई पूर्णरुपमा कार्यान्वयन गर्नेतर्फ उन्मुख भएकोछ । तर, कोरोना भाइरसको जोखिमकै बिच शुरु हुन लागेको रमजानमा गरिने एकमहिने व्रत (रोजा) र त्यसको अन्तिम दिन ईद पर्व मनाइन्छ ।

यही साता (सम्भवतः शनिबार) विश्वभर रमजानको महिना सुरु हुदैछ । रमजानको महिनामा मुसलमान मस्जिदमा एकसाथ नमाज पढ्छन् । तर, नेपालकै छिमेकी देश पाकिस्तानले कोरोना भाइरस (कोभिड(१९) को संक्रमण फैलिन नदिन मस्जिदमा समूहमा नमाज पढ्न रोक लगाएको थियो । तर, अब उसले आफ्नो निर्णय फिर्ता लिएको छ ।

पाकिस्तानका धार्मिक नेताहरूबीच भएको सहमति अनुसार अब ५० वर्ष कटेका, बच्चा र फ्लूको लक्षण भएकाहरूलाई मस्जिदमा आउन दिइने छैन । मस्जिदको कार्पेट हटाइनेछ र फ्लोर हरेक दिन सफा गरिनेछ । नमाज पढ्न आउनेहरूबीच उचित दूरी कायम गरिनेछ र फेस मास्क पनि लगाउन सकिने छ । यसका साथसाथै हात मिलाउन र अङ्कमाल गर्न पनि रोक लगाइएको छ । यदि यो गाइडलाइन उल्लङ्घन भएमा सहमतिमा पुनर्विचार गरिनेछ ।

कोरोना भाइरस संक्रमण सम्बन्धि तथ्यांक अध्यावधि गर्ने वल्डओमिटरका अनुसार आज सोमबार बेलुकी ५ः३६ बजेसम्म पाकिस्तानमा ८ हजार ४ सय १८ जना कोरोना भाइरस संक्रमित छन् । यस्तै यो अवधिसम्म १ सय ७६ जनाको मृत्यु भएको छ । यो संख्यामा सोमबार नै ८ जनाको मृत्यु र ७० जना नयाँ संक्रमित भेटिएकोछ ।

यता नेपालमा दिनानुदिन कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेको अवस्थामा लकडाउन र सामाजिक दूरीलाई विना संकोच मान्नुको विकल्प छैन ।

अझ देशमै सवैभन्दा बढि मुसलमानहरुको बाक्लो उपस्थित बाँके लगायत तराई, पहाडी र काठमाण्डौं लगायतका जिल्लामा बाक्लो बसोबास रहेको छ । यही क्षेत्रमा जनघनत्व पनि बढी छ ।

वर्षभरीको चाडपर्व मनाउन पाउनु नागरिकको अधिकार हो तर, विश्वभर महामारी बनेको कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले चालेको कदमलाई विनासंकोच पालना गर्नु नै आम देशबासीकालागि हितकारी हुनेछ । अमेरीका जस्तो सुविधा सम्पन्न र शक्तिशाली राष्ट्रले नै लकडाउन नमान्नुले त्यसको परिणाम अहिले भोगिरहेकोछ ।