File Photo
दशगजा (बाँके): न सफा चर्पी छ, न आवश्यकताअनुसार पानी, न घाम छिर्छ, न हावा, भुँईमै सुत्नुपर्छ, दैनिक स्वास्थ्य जाँच हुँदैन, अवस्था दयनिय र कष्टकर छ । बाँकेको दशगजा नजिक रहेका नेपालीलाई क्वारेन्टिन बस्दा पनि ‘जेलमा बसे झैँ’ भइरहेको छ ।
यसै त जेल जस्तै क्वारेन्टिन । त्यसमा पनि न पानीको सुविधा छ, न शौचालय । सुत्नका लागि ओछ्यान पनि छैन, लामखुट्टेबाट बच्न झुल पनि छैन । नत मागअनुसारको साबुन नै छ । १८ दिनदेखि यहाँ बसेका नेपाली सुरक्षित भन्दा पनि एकदमै असुरक्षित महशुस गरिरहेका छन् ।
बाँकेका सबै क्वारेन्टिन भन्दा दशगजा नजिकको क्वारेन्टिन अलि व्यवस्थित र सफा भनिएपनि अहिले उक्त क्वारेन्टिन दुर्गन्धित र असुरक्षित हुँदै गएको यहाँ रहेका बर्दियाका झलकबहादुर थापा बताउँछन् ।
उनकाअनुसार १४ दिनसम्म स्थानीय तहले यहाँ खानेपानी, बिजुली, साबुन लगायतका आवश्यक औजारको व्यवस्था राम्रै गरेको थियो । तर, दुई हप्तापछि भएको स्वास्थ्य परीक्षण पछि अहिले स्थानीय तहले खाना खुवाउने भन्दा अरू कुनैपनि सेवा सुविधा नदिएका उनले बताए ।
उनले भने ‘क्वारेन्टिन भनेर के गर्नु ? पछिल्लो समय जेल जीवन विताए जस्तै भइरहेको छ ।’ क्वारेन्टिन बन्दीगृह होईन उनले थपे ‘१४ दिनपछि घर जान पाउनुपर्ने भएपनि सरकारको निर्देशन भन्दै बाँके प्रशासनले आफुहरूलाई कैदीबन्दीलाई जस्तै गरि कुनै सुविधा समेत नदिएर राखेको छ ।’
यहाँको क्वारेन्टिनमा १४ दिनपछि न सुविधा छ, न मानवअधिकारको ग्यारेन्टी नै छ, जुम्लाका गोविन्द शाहीले भने ‘दुई सातापछिको बसाई जेल जस्तै छ । अपराधीलाई बरू जेलमा उचित सम्मान गरिन्छ, सुविधा दिइन्छ स्वास्थ्य जाँच गरिन्छ, मिठो बोलिन्छ तर, दशगजाको क्वारेन्टिनमा बसेका हाम्रा लागि केही सोँचिएको छैन् ।’
उनकाअनुसार यहाँको शौचालय दुर्गन्धित छ । एक सय ८१ जनाका लागि दैनिक नुहाई–धुवाईका लागि समेत उचित पानीको व्यवस्था छैन् । क्वारेन्टिनमा बिजुली छैन् । उनले भने ‘यसअघि जडान गरिएको बिजुलीबत्ती ठेकेदारले दुईहप्तासम्मको मात्रै सम्झौता भन्दै पोलबाट बत्ति नै तानेर लगिदियो ।’ उनले थपे ‘त्यसपछि यहाँ बिजुली जडानका लागि समेत बाँके प्रशासन, स्थानीय तहलगायतका निकायले चासो देखाएका छैनन् ।
दशगजाको क्वारेन्टिनमा रहेका नेपालीहरूको अवस्था कष्टकर बन्दै गएको छ । उनीहरूले यहाँ बस्नका लागि उचित वातावरण मिलाईदिन र क्वारेन्टिनमा पाउनुपर्ने सबै सेवा सुविधा उपलब्ध गराईदिन आईतबार मात्रै बाँके प्रशासनलाई ज्ञापनपत्र बुझाएको बताएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई ज्ञापनपत्र बुझाएर आफ्नो समस्याका बारे जानकारी दिएपनि सोमबारसम्म सिडिओ खड्काले आफूहरूका समस्या र मागप्रति कुनै सुनुवाई नगरेको उनीहरू बताउँछन् ।
बाँकेमा दैनिक गर्मी बढ्दै गएको कारण उक्त क्वारेन्टिनमा सर्पको एकदमै डर देखिएको बर्दियाका गौरी कामी बताउँछन् । उनका अनुसार भुँईको सुताई भएकोले सर्पको एकदमै डर छ । यहाँ रहेका नेपाली कोरोनबाट नभई सर्पले डसेर मरिने हो की भन्ने चिन्तामा देखिएका छन् ।
अनुसन्धानका लागि थुनामा राखिएका बन्दी समेतले हिरासतमा सुत्न खाट पाएका हुन्छन्, बर्दियाका भुपेन्द्र खत्रीले भने ‘जेलमा रहेका बन्दीकैदीको स्वास्थ्यको राम्रो प्रबन्ध हुन्छ । सुत्ने पनि राम्रै व्यवस्था हुन्छ ।’
तर, यहाँ त दैनिक स्वास्थ्य परीक्षण त परै जाओस् एउटै पालमूनि तीन/चार जना लम्पसार भई सुत्न बाध्य हुनुपरेको छ । चैत्रको महिना हावाहुरीको उच्च जोखिम हुने भएकाले यदि हावाहुरी आएको अवस्थामा यहाँ कामचलाउन पालले थेग्न नसक्ने उनी बताउँछन् ।
लामखुट्टेबाट बच्न झुल पनि छैन । खाली चौउरमा सामान्य कपडा ओछ्याएर सुत्नुपरेको छ, उनीहरूले भने ‘प्रायः पालमूनी जेलमा झै तीन/चार जना व्यक्ति खचाखच छन् ।’
यसअघि १८ दिन पहिले बैदेशिक रोजगारीमा भारतका विभिन्न जिल्लामा गएका नेपाली भारतमा कोरोना संक्रमणको त्रास बढेसँगै नेपाल–भारत सीमानाका जमुनाह हुँदै नेपाल प्रवेश गरेका थिए ।
उनीहरूमा पनि कोरोना संक्रमणको आशंका गर्दै बाँकेस्थित सरकोकारवाला निकायले १४ दिनका लागि उक्त क्वारेन्टिनमा राखेको थियो । १४ दिनपछि उनीहरूको स्वास्थ्य परीक्षण गर्दा एक सय ८१ जनामै कोरोना नेगेटिभ देखिएको थियो । तर, माथिको आदेश भन्दै बाँके प्रशासनले उनीहरूलाई घर फर्कन अहिलेसम्म दिएको छैन् ।
दशगजास्थित क्वारेन्टिनमा रहेका नेपालीले अब सरकार विरूद्ध आन्दोलन गर्ने चेतावनी दिएकाछन् । २१ दिनसम्म क्वारेन्टिनमै बस्ने तर, २१ दिनपछि पनि घर जान नदिएपछि सरकार विरूद्ध कडा आन्दोलनमा उत्रने उनीहरूले सोमबार चेतावनी दिएका छन् ।

दुई हप्ता क्वारेन्टिन बसाईपछि स्वास्थ्य परीक्षण गरेर घर पठाउने सर्तमा दशगजामा उनीहरूलाई राखिएको थियो । त्यहि सहमति अनुसार नेपालगन्ज उपमहानगरपालिकाले १४ दिनपछि सबैको स्वास्थ्य परीक्षण गरि कोरोना नेगेटिभ आएको भन्दै प्रमाणपत्र समेत दिइसकेको छ ।
प्रमाणपत्र दिएर घर फर्कनका लागि गाडीको समेत व्यवस्था उपमहानगरले गरिसकेको बेला बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले गृहको आदेश भन्दै उनीहरूलाई घर जानबाट रोकेका थिए ।
सरकारले यसरी झुक्काएपछि आक्रोशित बनेका उनीहरूले २१ दिनपछि आफूहरूले सोही दिनसम्म क्वारेन्टिन बसेका प्रमाणपत्र सहित घर जान पाउनुपर्ने अडान राखेका छन् ।
यदि २१ दिनका दिनपछि बाँके प्रशासनले १४ दिनको जस्तै व्यहोरा देखाएको खण्डमा आफूहरू सरकारका विरूद्ध आन्दोलनमा जानुको विकल्प नरहने उनीहरूको भनाई छ ।
बाँके कोरोना उच्च जोखिममा देखिएको करीब एक महिना वितिसकेको छ । बाँके प्रशासन, स्थानीय तह, सुरक्षा निकाय सञ्चारकर्मी लगायतको सहकार्य र समन्वयमा करीब एक हजार जनाजतिलाई क्वारेन्टिनमा राखिएको छ ।
शुरूवाती दिन जतिबेला आम नागरिक र सबैमा उच्च त्रास थियो । त्यो बेला बाँकेका मानवअधिकारकर्मी कानमा तेल हालेर व्यक्तिगत असुरक्षा भन्दै घरभित्रै बसेका थिए । तर, सोमबार केहि मानवअधिकारकर्मी बेमौसमी काम देखाउन दशगजामा रहेको क्वारेन्टिनमा तामझामका साथ पुगेका थिए ।
उनीहरूले त्यहाँ रहेका आमनागरिकको मानवअधिकारका बारे अनुगमन गरेका छन् । यद्यपी उनीहरूको उक्त अनुगमन प्रतिवेदन कहिले सार्वजनिक हुन्छ र कहाँ बुझाईन्छ त्यसको उपलब्धी के हुन्छ भन्ने कुनै निक्र्यौल देखिदैन् ।
बाँके प्रशासनले अधिकारकर्मी मात्रै होईन कसैलाई पनि यसरी अनुगमनका नाममा अनुमति नदिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का बताउँछन् । उनकाअनुसार बाँके प्रशासनले अनुगमनका नाममा अधिकारकर्मी मात्रै होईन कसैलाई पनि अनुमति दिदैन् ।
राष्ट्रिय मानवअधिकार आयोगलाई समेत अनुगमनका लागि अनुमति नदिएको बेला ‘अन्य निकायलाई त प्रशासनले अनुमित दिने कुरै भएन प्रजिअ खड्काले भने ‘उहाँहरू आफ्नै मनोमानीले जानु भएको होला । के रहेछ म बुझछु ।’ उनले थपे ‘उहाँहरूले तत्काल यस्तो काम रोक्नुपर्छ ।’
कोभिड १९ को अवस्थामा मानवअधिकारको अनुगमन गर्न पाँउ भनि प्रशासनलाई आग्रह गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग प्रस्तावित लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाँईले यस्तो अवस्थामा प्रशासनलाई भने ‘तर, प्रशासनले अहिलेसम्म अनुगमनका लागि अनुमति दिएको छैन् ।’
यस्तो अवस्थामा आफै सुरक्षित हुने पर्नेमा मानवअधिकारका निहुँमा हुल नै बाँधेर क्वारेन्टिनमा अनुगमनका लागि जानु गलत भएको उनले बताएका छन् । नगई नहुने अवस्थामा त्यो पनि प्रशासनसँगको सहकार्य र समन्वयमा मात्रै जान सकिन्छ । उनले भने ‘नत्र अघिपछि अधिकारकर्मीका नाममा अनुगमनमा जान जरूरी छैन् ।’ उनकाअनुसार आयोग अहिलेसम्म देशभरमै अनुगमनका नाममा बाहिर निस्किएको छैन् ।
सोमबार क्वारेन्टिनमा पुगेका अधिकारकर्मीहरूको टोलीका एक सदस्य विकास आचार्यले बाँके प्रशासनसँगको समन्वयका आधारमा यहाँ रहेका नेपालीको मानवअधिकारको अवस्थाका बारे अनुगमन मात्र गरिएको बताएका छन् ।
उक्त टोलीमा बसन्त गौतम, नमस्कार शाह, विश्वजित तिवारी, सुरेश गौतम लगायतका अधिकारकर्मीहरूको सहभागीता थियो । कोरोना भाइरस जोखिम बढेसगैं सरकारले लगाएको लकडाउन र सीमानाका बन्दले प्रभावित भएका आमनागरिक पीडित बनिरहँदा जिल्लास्थित मानवअधिकारबादी तैचुप मैचुप बनेका थिए ।
आफू अनुकुल वातावरण बनेपछि लावालस्करसहित अनुगमनका नाममा टोलीभित्रै सामाजिक दूरी समेत पालना नगरि क्वारेन्टिनमा रहेका आम नागरिकलाई हतोत्साहित र आशाबादी बनाउन सोमबार मानवअधिकारबादीको उक्त टोली दशगजा स्थित क्वारिन्टन पुगेको हो । तर, उक्त टोली यसअघि कुनैपनि क्वारेन्टिनका साथै कोभिड १९ को निहुँमा जिल्लामा अनुगमनमा निस्किएको थिएन् । यसरी अधिकारबादी संघसस्थाको गैरजिम्मेवारी तथा लापरबाहीका कारण कहिलेसम्म आम नागरिक ठगिने ?