राहत नपाएपछि नेपालगन्ज उपमहानगरपालिका घेराउ गर्दै स्थानीय । तस्विरः सेतोखरी
नेपालगन्जः लकडाउनका कारण सिर्जित असहज परिस्थितीकाबीच सामाजिक दूरी तोड्दै नेपालगन्जबासी आन्दोलनमा उत्रिएकाछन् । राहतका नाममा उपमहानगरपालिकाका विभिन्न वडामा विवाद बढ्दै गएपछि आम नागरिक उपमहानगरपालिका घेरा हाल्नुको विकल्प नरहेको बताउँछन् ।
नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर ४ मा राहत वितरण गर्नेक्रममा उत्पन्न विवादले उपमहानगरपालिकामा तालाबन्दी समेत गरेकोछ । वडाले राहत वितरणमा आफुखुसी गरेको भन्दै स्थानीयबासी आन्दोलनमा उत्रिदै उपमहानगरपालिका विरुद्ध नाराबाजी समेत गरेकाछन् ।
नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडामा राजनीतिकरण र जनप्रतिनिधिको मनोमानि तरिकाले राहत वितरण गरेको भन्दै स्थानीयवासी आन्दोलन गर्दै, वडा कार्यालयमा धर्ना र तालावन्दी समेत यसअघि गरिसकेकाछन् ।
लामो समय लकडाउन हुँदा अति विपन्न परिवार मर्कामा परेका छन् । तर उपमहानगरपालिका विभिन्न वडाले वितरण गरेको राहत पारदर्शी नभएको भन्दै वडाबासी आन्दोलनमा उत्रिनुको विकल्प नरहेको स्थानीयले बताएकाछन् ।
राहतमा अनियमितता भएपछि यसअघि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का स्थानीयबासी वडामा ताला समेत लगाएका थिए । तर, उनीहरुको समस्याको समाधान नभएपछि दोश्रो चरणको राहत वितरणमा समेत मनोमानि गरिएपछि उनीहरुले वडा उपमहानगरपालिका घेरेका हुन् ।
दैनिक ज्याला मजदूरी गर्ने, अति विपन्न परिवारलाई वडा कार्यालयले छानविन नगरिकन राहत वितरण गरिरहेकोछ अझ त्यसमाथि राहतकै लागि भनेर वडाले घरबेटीको नागरिकता फोटोकपि, बत्तिबिल लगायत सामान माग्यो त्यो पनि बुझाइयो तर राहत पाइएन सुष्मा विष्टले बताईन् ।
सोमवार पनि वडा कार्यालय पुगेका स्थानीयवासी वडा कार्यालय बन्द देखेपछि नेपालगन्ज उपमहानगरपालिका पुगे र केहीबेर धर्ना दिए । लकडाउनको बेला जसोतसो नगरपालिका पुगेका स्थानीयबासी आफ्नो जायज माग पुरा गर्न राय राखे । तर, सुनवाई नभएपछि स्थानीयबासी घरतिर लागे ।
पहुँचको आधारमा राहत वितरण गरिएको भन्दै पटक–पटक स्थानीयबासीले वडा कार्यालय घेराउ गरिरहेका छन् । वडामा राहत वितरणमा पारदर्शी बनाउन माग गरिएपनि पहुँचवालाले मात्र राहत लगेको राप्रसाद थारुले बताए ।
बन्दाबन्दीका बिच राहत वितरणमा कसैलाई काखा कसैलाई पाखा गराउने प्रवृति भएकोले न त सम्बन्धित निकायले न त प्रशासनले नै हाम्रो समस्या बुझिरहेकोछ’ देविका खड्काले भनिन्–बाहिर जिल्लाबाट आएका नागरिकका लागि कोही बोलिदिने भएनन् ।’
‘राहत वितरण चुस्त दुरुस्त बनाउन हामीले नाम तयार गरिरहेका छौं केहीदिनमै सार्वजनिक गरि राहत वितरणमा सहजता ल्याउने उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणाले बताए । उनले भने–उपमहानगरपालिका भित्र राहत वितरणमा खासै विवाद नभएपनि राहत वितरण कार्य सरल नभएका कारण केही समस्या आएको हो ।’